Ad imageAd image

बुटवलमा शुल्क वृद्धि गरिएमा विद्यालयलाई कारबाही गरिने

खबर खुराक
खबर खुराक ५ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

५ साउन, बुटवल । बुटवलका संस्थागत विद्यालयले एकलौटी रूपमा शुल्क वृद्धि गर्न थालेपछि बुटवल उपमहानगरले विद्यालयलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ

बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै पनि प्रकारको शुल्कमा वृद्धि नगर्न निर्देशन दिनुभएको हो।

कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यार्थीलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागु नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिन पनि निर्देशन दिनुभयो। बुटवलका केही विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफू अनुकूलका पसलबाट खरिद गर्नका लागि सिफारिस गर्ने र बाध्यकारी बनाउने काम गरेपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो।

उहाँले छलफलका क्रममा विद्यालयको गुणस्तर सुधार गर्न अनुरोध गर्दै शुल्क वृद्धि गर्ने काम नगर्न र पुस्तक तथा पोसाक तोकिएकै पसलबाट किन्नुपर्ने बाध्यकारी नियम लागु नगर्न पनि विद्यालयलाई निर्देशन दिनुभएको हो।

- Advertisement -
Ad image

केही विद्यालयले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्ति कम हुँदा पनि क्षमताभन्दा धेरै विद्यार्थी भर्ना गर्न थालेपछि उपमहानगरले विद्यालयको अवस्था हेरेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो।

उहाँले संस्थागत विद्यालयले मनपरी रूपमा शुल्क लिँदै आएको गुनासो आएको भन्दै नगरपालिकाले तय गरेको भन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिनुभयो। कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयको गुणस्तरका साथै सिपमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले बुटवललाई शिक्षामा अग्रणी बनाउन संस्थागत विद्यालयले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

अर्यालले विद्यालयको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयको शिक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिँदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले त्यसको तयारी गर्न उहाँले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्