Ad imageAd image

पछिल्लो एक वर्षमा झापामा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु

खबर खुराक
खबर खुराक ६ श्रावण २०८०, शनिबार
3 Min Read
Aa

६ साउन, झापा । झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७९-८० मा मानव हात्ती द्वन्द्वका क्रममा  झापामा मात्रै ८ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएको  डिभिजन वन कार्यालय झापाले जनाएको छ  ।

 यस अवधिमा दुई गैह्र नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।  यसै गरी  यस आर्थिक वर्षमा  दुई वटा हात्ती समेत विद्युतीय तारमा परि मारिएको छ ।  हात्तीको आक्रमणमा परि ज्यान गुमाउने  गैह्र नेपालीमा एक जना भुटानी र एक जना भारतीय नागरिक रहनुभएको डिभिजन   वन कार्यालय झापाले जनाएको छ ।

हात्तीका कारण ज्यान गुमाउने गैह्र नेपालीको हकमा  राहत रकम पाउने व्यवस्था नरहेको जिल्ला वन कार्यालय झापाकी सूचना अधिकृत अञ्जना पुरीले बताउनुभयो । यसै गरी झापामा पछिल्लो १२ वर्षमा मात्रै हात्तीको आक्रमणमा परि ६१ जनाको ज्यान गएको छ जसमा ७ जना विदेशी नागरिक समेत परेका छन् ।

 झापामा हात्तीको आक्रमणबाट अघिल्लो आर्थिक वर्ष  २०७८-७९ मा ५ जनाले हात्तीको आक्रमणमा परि ज्यान गुमाउनु परेको थियो भने यसै गरी  आर्थिक वर्ष  २०७७÷७८ ३ जनाको मात्रै ज्यान गएको थियो ।

- Advertisement -
Ad image

यसै गरी २०७६-७७ मा २ जना , आव २०७५-७६ मा १ जना,  र आव २०७४-७५ मा ५ जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रमणमा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैह्र नेपाली रहेको सूचना अधिकृत पुरीले जानकारी दिनुभयो ।

त्यस्तै, यस १२ वर्षको  अवधिमा १७ वटा हात्तीको समेत मृत्यु भएको  छ ।  चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भएको छ । मृत्यु हुने  अधिकांश मानिसहरू खेतमा काम गरिरहेका किसान तथा मजदुरहरू पर्ने गरेको पाइएको छ ।

 यस वर्ष हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेहरूमा खेतमा काम गरिरहनुभएको  बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी, सामुदायिक वनभित्र घाँस काटिरहनुभएका  बाह्रदशी–१ का जगतबहादुर भुजेल, घरभित्रै सुतिरहनुभएकी  शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारी, यसै गरी आफ्नै मकैवारिमा काम गरिरहनुभएका बुद्ध शान्ति गाउँपालिका ४ का भीमबहादुर भट्टराई, स्कुटरमा घर जाँदै गर्नुभएकी  बुद्ध शान्ति–५ की सम्झना श्रेष्ठ, चिया बगान छेउमा च्याउ खोज्न जानुभएका  भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हात्तीको आक्रमणमा परि ज्यान गएको थियो । यसै गरी गैह्र नेपाली भुटानी शरणार्थी कमैया राईलाई  दमक–३  स्थित सामुदायिक वनमा  र अर्का गैह्र  नेपालीलाई मेचीनगरको धुलाबारी बजारमा हात्ती आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको  थियो ।

यसै गरी झापामा गत आर्थिक वर्षमा पाँच सय १४ जना हात्तीपीडितले राहत रकम प्राप्त गर्नुभएको छ । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्‍याएबापत उनीहरूले एक करोड ११ लाख ३६ हजार सात सय तीन रूपियाँ राहत स्वरूप वितरण डिभिजन वन कार्यालयले जनाएको छ ।

सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५,  चौपाया र अन्नबालीमा क्षति बापत  ५२ लाख १९ हजार चार सय पचहत्तर रूपियाँ राहत रकम उपलब्ध गराइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्