साउन ५ , रूपन्देही
लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा डेढ महिनामा करिब ४५ हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।
करिब डेढ महिनाको अवधिमा ४२००० जनाले केबलकार चढेका र यस बाहेक विशिष्ट व्यक्तिहरू, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ४५००० जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये करिब ८८ प्रतिशत नेपाली, ७ प्रतिशत भारतीय र अन्य तेस्रो मुलुकका रहेका छन् । श्रावण र भदौको प्रत्येक बुधबार बिहानीको ९ बजे देखि दिउँसो १२ बजेको समयमा ५०% सम्म छुट दिईन थालेपछि पर्यटकहरूको संख्यामा ह्वात्तै बढोत्तरी आएको हो । हाल बिहानीको समयमा टिकट दर नेपालीलाई रू ३७५ र भारतीय लाई ३७५ भारू कायम गरिएको छ ।
त्यस्तै केवुलकारको टप स्टेशन भन्दा माथि बसन्तपुरमा निर्माण गरिएको मा कामख्या मन्दिरमा सञ्चालनको डेढ महिनाको अबधिमा ५ लाख भन्दा बढि भेटी संकलन भएको छ । माकामख्या माता को दर्शनका लागि नेपाली तथा भारतिय तिर्थालुहरू बसन्तपुर आउने गरेको केवुलकारका सुरक्षा शाखाका प्रमुख पुर्व प्रहरी नायब निरिक्षक देउबहादुर चन्दले जानकारी दिए ।
केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ । टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउँ र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका प्रालिले जनाएको छ ।
२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाइमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रक्रियामा रहेको जानकारी त्यहाँ कार्यरत एक कर्मचारीले दिए।
केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको स्रोतले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैया र भारतीयका लागि ७५० भारु रहेको छ ।
केबलकारले प्रत्येक टिकट मूल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्