
एलकेजीमा पढ्ने भव्य गुरुङ शुक्रबार चाँडै विद्यालय आउँछन् । उनीजस्तै अन्य विद्यार्थीलाई पनि शुक्रबारले स्कुलतिर बढी तान्छ । विद्यालय पोसाक अनिवार्य गरिए पनि शुक्रबार सबैलाई छुट छ । विद्यालयले ‘बुक फ्री फ्राइडे’ अर्थात् पुस्तकबिना शुक्रबारको शिक्षणसिकाइ थालेयता विद्यार्थीलाई यो दिन विशेष लाग्न थालेको छ ।
शुक्रबार कक्षा यूकेजीका विद्यार्थीले चित्र कोर्ने, नेपाली र अंग्रेजी भाषामा परिचय दिने, बालचित्र कथाका पुस्तक पढ्ने गर्छन् भने हिउँदमा करेसाबारी तथा वर्षायाममा कौसीखेती अवलोकन गर्छन् । आफूले भान्साकोठामा देख्दै आएको तरकारी र फलफूल करेसाबारी र कौसीमा फलेको देखेपछि उनीहरू थप उत्साहित हुन्छन् । बेलाबेला विद्यालयले अभिभावकको रोहबरमा मौसमी तरकारी र फलफूलका बिरुवा वितरण गर्ने गरेको छ ।
एलकेजी र शिशुकक्षाका विद्यार्थी पनि शुक्रबार चित्र कोर्छन्, बालगीत गाउँछन्, नृत्यमा रमाउँछन् । कुनै शुक्रबार सिनेमाघरमा जस्तै प्रोजेक्टरमार्फत अंग्रेजी र नेपालीका बालगीत हेर्छन् । पुस्तकबिनाको सिकाइले उनीहरूमा उत्साह थप्नुका साथै शिक्षकहरूलाई पनि उमेर अनुसारको क्रियाकलाप गराउन र सिकाउन ऊर्जा बढाएको छ । औपचारिक शिक्षाको परम्परागत तथा निष्क्रिय शिक्षणसिकाइलाई परिमार्जन गरी एक दिन भए पनि पुस्तकबिनाको सक्रिय क्रियाकलापले नयाँ कुरा सिक्न अभिप्रेरित गर्दै आएको छ ।
यही शैक्षिक सत्रदेखि काठमाडौं महानगरले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम थालेको छ । नगरक्षेत्रका सामुदायिक विद्यालयलाई हरेक शुक्रबार पुस्तकबिनाको शिक्षणसिकाइ गर्नुपर्ने निर्देशन जारी गरेको छ । ती विद्यालयले विद्यार्थीको रुचि र उमेर अनुसार प्राविधिक तथा जीवनोपयोगी सीप सिकाउनुपर्नेछ । त्यति मात्र होइन कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई व्यावहारिक तथा जीवनोपयोगी सीपसहित १० किसिमको तालिमका लागि वर्षमा ९० घण्टा छुट्ट्याउनुपर्ने निर्देशनमा भनिएको छ । तालिम अन्तर्गत कृषि तथा सहरी खेती, सौन्दर्य कला, पाककला, कपाल शैली, काष्ठकला तथा नक्कासी (कुँदेर बुट्टा भर्ने काम) लगायत पर्दछन् । यसका साथै फेसन डिजाइन, विद्युत् जडान (वायरिङ एन्ड इलेक्ट्रिकल) विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल मर्मत, पाइप जडान तथा कला र मूर्तिकला सम्बन्धी तालिम दिने महानगरको योजना छ ।
पछिल्लो समय निजी विद्यालयबाट शिक्षा हासिल गरेका बहुसंख्यक हुनेखाने विद्यार्थीले स्वदेशमा भन्दा विदेशमै भविष्य देख्न थालेका छन् । यसरी निजी विद्यालयको तेह्रवर्षे शिक्षाले आफ्ना विद्यार्थीलाई स्वदेशमा होइन विदेशमै उच्चशिक्षा हासिल गर्नुपर्छ र उतै अवसर पाइन्छ भनेर प्रशिक्षित गरेको पाइन्छ । यसो हुनुका अनेकौं कारणमध्ये एउटा अंग्रेजी माध्यम पनि हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यस अर्थमा अधिकांश निजी विद्यालयको स्कुल शिक्षाले स्वदेशमा गरिखाने होइन विदेश र विदेशीलाई चाहिने जनशक्ति तयार गरिरहेको देखिन्छ । पछिल्लो समय सामुदायिक शिक्षामा नेपाली माध्यमकै कारण गुणस्तर खस्केको भन्दै अधिकांश सामुदायिक विद्यालयले एउटै भवनमा नेपाली र अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिरहेका छन् ।
स्कुले शिक्षाको गुणस्तर भाषाको माध्यमभन्दा पनि विषयवस्तुको सान्दर्भिकता र समयसापेक्षता लगायत शिक्षणसिकाइमा भरपर्ने हुन्छ भन्ने विकसित मुलुकको शिक्षणसिकाइले प्रमाणित गरिसकेको छ । किनभने स्पेन, फिनल्यान्ड, स्विडेन, जापान तथा चीनजस्ता कतिपय विकसित मुलुकको भाषाको माध्यम अंग्रेजी होइन उनीहरूको आफ्नै भाषा छ । यस अर्थमा हामीकहाँ अंग्रेजी माध्यमले शिक्षाको गुणस्तर बढाउँछ भन्नु ती देशले अपनाएका शिक्षा नीति गलत साबित गर्नु हो । विकसित मुलुकले अपनाएको शिक्षा नीति र अभ्यासले विद्यार्थीलाई आफ्नै देशमा गरिखान सिकाउँछ भने हामीकहाँ अंग्रेजी भाषाले अरूको मुलुकमा रोजगारी र अवसर खोज्न अभिप्रेरित गर्दै छ । आर्थिक विपन्नताका बावजुद छोराछोरीलाई निजी विद्यालय पढाउने कतिपय अभिभावक आज घरघडेरी बेचेर त्यो पनि नभए ऋणपान गरेर उच्च शिक्षाका लागि विदेश पठाउन बाध्य छन् ।
हरेक वर्ष एसईई उत्तीर्ण गरेपछि उच्चशिक्षा हासिल गर्न बिदेसिन चाहने विद्यार्थीलाई स्वदेशमै पढ्न र आफ्नै देशमा अवसर छ भनेर वर्तमान शिक्षाले न त मार्गनिर्देशन गरेको देखिन्छ न सोहीअनुरूप पाठ्यसामग्री तयार छ । केही दिनअघि मात्र एसईईको नतिजा सार्वजनिक भएको छ । जीपीए ल्याउने विद्यार्थीको विद्यालय र घरपरिवारमा हाइहाइ छ भने ल्याउन नसक्ने केही निराश बनेका छन् । समग्रमा यसपालि विगतभन्दा नतिजामा सामान्य सुधार आएको सरोकारवाला बताइरहेका छन् ।
विद्यालय चाहे निजी हुन् या सामुदायिक । अधिकांशले सैद्धान्तिक शिक्षालाई मात्रै बढी महत्त्व दिने गरेका छन् । यसले गर्दा पनि एसईईमा राम्रो जीपीए ल्याउनेहरूले इच्छाएको संकाय लिई उच्चशिक्षा गर्ने अवसर पाउँछन् भने बहुसंख्यक औसत विद्यार्थी त्यसबाट वञ्चित हुन्छन् । यस्तै, विभिन्न कारण स्कुले शिक्षापछि पढाइ छाड्ने विद्यार्थीको लेखाजोखा राख्ने विषयमा सम्बन्धित निकाय मौनप्रायः छन् । यसरी विद्यार्थीहरू हाम्रा लागि जनशक्ति हुन् भनेर प्रशिक्षित गर्न बिर्सेका विद्यालय शिक्षित बेरोजगार जनशक्ति उत्पादन गर्ने मुहान बन्दै आएका छन् । विद्यालयले विद्यार्थीलाई जनशक्तिको रूपमा हुर्काउन सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र जीवनोपयोगी सीप सिकाउन जरुरी छ । जसले विद्यार्थीलाई संकाय रोज्न सहज हुन्छ भने स्वदेशमै रोजगारीको अवसर खोज्न प्ररित गर्छ । समाजलाई चाहिने सेवा र वस्तुबारे अध्ययन तथा सोहीअनुरूप जनशक्ति तयार गर्न विद्यालय लागिपर्ने हो भने रोजगारी र अवसरकै लागि विदेश पलायन हुनेको संख्या घट्न सक्छ ।
इ कान्तिपुरबाट ।।
प्रतिक्रिया दिनुहोस्