११ साउन, बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताए । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाई छ ।
कर्नियाको निशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि बनाउने प्रकृया सुरु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्