११ साउन, काठमाडौं । मिस युनिभर्स नेपाल २०२३’को लागि आवेदन खुला गरिएको छ। मिस युनिभर्स नेपालले अफिसियल फेसबुक पेजमार्फत चौथो संस्करणका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो।
यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिए ।
उनले भने, “यो प्रतियोगिता सबैका लागि होस् भनेर हामी लचिलो भएका छौँ । यसपटक हामीले सौन्दर्यको सीमा हुँदैन भन्ने विश्वासका साथ विवाहित र आमाहरूलाई समेत सहभागी गराउने छौँ ।”
उनले उचाइ वा तौल स्वीकारेर ट्रान्सवुमन, गैरआवासीय र विवाहितसँगै आमालाई समेत सहभागी गराइने निर्णय सौन्दर्य प्रतियोगितामा पहिलोपटक भएको जानकारी दिए । “सबै आकारका महिला, देशबाहिर रहेकालाई देशको प्रतिनिधित्व गर्ने अवसर र विवाहित भएर पनि सपना देख्न नछोड्नु भन्ने उद्देश्य हाम्रो हो”, निर्देशक श्रेष्ठले भने । यस संस्करण मापदण्डहरूलाई चुनौती दिँदै, अवरोधहरू तोड्दै, परिवर्तन र प्रेरणाको प्रकाशको रूपमा चम्कने उनको विश्वास छ ।
यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन् । गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्