१२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि त्रिविले नेपालीमा पनि छाप्ने तयारी गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ। अहिले यो विषयमा छलफल भैरहेको उनले बताए ।
अहिले स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर्स) मा अंग्रेजी माध्यममा मात्रै प्रश्न सोधिँदै आएको छ। जसकारण जानेका विषयवस्तु पनि प्रश्न नबुझेकाले लेख्न नसकेकाले सबै विषयको नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने माग सांसदहरूले पनि गर्दै आएका छन्।
रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालीमा पढाइ हुने तरअंग्रेजीमा मात्रै प्रश्न सोधिएकाले धेरै विद्यार्थीहरू फेल भएको भन्दै नेपालीमा पनि प्रश्नपत्र छाप्न पटक–पटक माग गर्दै आएकी छिन्। गत असार ५ गते भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले तत्काल नेपालीमा पनि प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग गरेकी थिइन्।
यसैगरी नेपाली कांग्रेसका सांसद जीवन परियारले पनि उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाएर छाप्न माग गरेका छन्। असार ३१ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले नेपालीमा पढाइ हुने तर अंग्रेजीमा प्रश्न सोध्नेका कारण उत्तीर्ण प्रतिशत घटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने मागसहित सर्वोच्च अदालतमा ६ वर्षअघि अर्थात् २०७४ सालमै मुद्दा दायर भइसकेको छ। हालसम्म फैसला भने हुन सकेको छैन। अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै २०७४ सालमै रिट दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्