Ad imageAd image

बौद्ध विहारलाई विदेशी म्युजियम नबनाऔं

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
10 Min Read
Aa
सुधीर शर्मा

न्युयोर्कको रुबिन म्युजियम फर आर्ट्सले काठमाडौंको इतुंबहाः (इटुम्बहाल) महाविहारमा खोल्न लागेको म्युजियमको उद्घाटन र त्यसको ‘खुसियाली’ मा आयोजित साँझको रिसेप्सनका निम्ति तारन्तार इमेलहरू पठाएपछि मलाई अलि अनौठो लाग्यो । झट्ट सुन्दा कतिपयलाई बौद्ध विहारको संरक्षण गर्न त खोजिएको होला, के अनौठो भयो भन्ने पनि लाग्न सक्ला । सुरुमा मलाई पनि त्यस्तै लागेको थियो, तर अलि गहिरिएर हेर्दा दुइटा कारणले यो कार्य प्रश्नको घेरामा छ ।

पहिलो, काठमाडौं उपत्यकाका रैथाने बासिन्दाले आफ्नो दैनन्दिन सामुदायिक–सांस्कृतिक अभ्यासको अंग बनाउँदै, सयौं वर्षदेखि आफैं जोगाइआएको जीवन्त धरोहरलाई निर्जीव संग्रहालयका रूपमा किन खुम्च्याउन खोजिँदै छ ? दोस्रो, नेपालबाट चोरेर लगिएका दर्जनौं मूर्ति र कलाकृतिहरू राखेको रुबिनजस्तो विवादास्पद म्युजियम, जसले इतुंबहाः महाविहारबाटै चोरिएका दुई सामग्री केहीअघि मात्र चर्को सार्वजनिक दबाबपछि फर्काउनुपरेको थियो, उसैलाई यो कार्यमा किन संलग्न गराउनुपर्‍यो ? आफूसँग भएका नेपालका बाँकी कलाकृति नफर्काई अहिले उल्टो उही नै ‘ससम्मान’ संरक्षणकर्ताजस्तो देखिँदै आफूले ‘नेपालमा पहिलो विहार म्युजियम’ खोल्न लागेको घोषणासहित आउनु आफैंमा विडम्बनाको विषय हो ।

काठमाडौं उपत्यकामा डेढ हजार वर्ष वा त्यसभन्दा पनि पुराना थुप्रै विहार र महाविहारहरू छन् । वसन्तपुरछेउको इतुंबहाः तिनैमध्ये एक हो । डेनियल राइटले डेढ सय वर्षअघि लेखेको ‘हिस्ट्री अफ नेपाल’ का अनुसार, लिच्छविकालदेखि नै पूजा गर्ने थलो रहेको त्यो ठाउँमा सन् १०८० तिर राजा भास्करदेवको पालामा विहार स्थापना गरिएको थियो । ह्लासा व्यापारबाट फर्कंदा थुप्रै सुन लिएर आएका भास्करका छोरा केशचन्द्रले बनाएको हुनाले यसलाई केशचन्द्र महाविहार पनि भन्ने गरिन्छ । यो काठमाडौंको पुरानो र प्रख्यात वज्रयानी बौद्धथलो हो, जसले अनेक कालखण्डमा अनेक थरी धार्मिक, राजनीतिक, प्राकृतिक विपत्तिहरू भोग्नुपर्दा पनि आफ्नो अस्तित्व निरन्तर जोगाइराख्न सक्नुका पछाडि स्थानीय समुदायको सजगता र संलग्नता मुख्य कारण थियो । अहिले सात समुद्रपारिबाट भित्रिन लागेको नौलो हावाले चाहिँ के–कसो गर्ला भन्ने चिन्ता त्यहाँ बढेको छ ।

कहिलेकाहीं मलाई काठमाडौं उपत्यका पत्रैपत्रको सहरजस्तो लाग्छ । एउटा पत्र कोट्यायो भने त्यहाँ अनन्त सपना बोकेर आएका आगन्तुकहरूको हूल देखिन्छ । अर्कोलाई उधिन्दा सहरी चकाचौंध सामुन्ने आउँछ । कहीं गरिबीले थिचिएर पिल्सिएको जीवन भेटिन्छ, कतै शक्ति र सत्ताको उन्माद प्रकट हुन्छ । ती सबै खाले तह–तहगत आकांक्षा र आवश्यकताहरूको सडक र गल्लीहरूमा समानान्तर दौडधुप चलिरहेको हुन्छ । तिनैमध्ये कुनै साँघुरो गल्लीमा हिँड्दै गर्दा कतै सानो ढोकाबाट फुत्त भित्र पस्यो भने त्यहाँ देखिने फराकिला विहारहरूको अनपेक्षित दृश्यले धेरैलाई चकित पार्छ । त्यसैले होला, हाम्रासामु देखिने काठमाडौं पनि छ, झट्ट नदेखिने काठमाडौं पनि ।

- Advertisement -
Ad image

सामान्यतः उपत्यकाका पुराना मूर्ति, मन्दिर, दरबार आदि देखिने मूर्त सम्पदाका रूपमा छन्; त्यसबाहेक खास गरी मठ–मन्दिर र विहारहरूले नदेखिने अमूर्त सांस्कृतिक सम्पदा सयौं वर्षदेखि जोगाएर राखेका छन् । लगनटोलदेखि वसन्तपुर हुँदै क्षेत्रपाटी र ठमेलसम्म हिँड्दै जाँदा मुख्य सडकभन्दा दायाँबायाँ विहार र चैत्यहरूको एउटा शृंखला नै देखा पर्छ । पाटन त विहारहरूको झन् ठूलो केन्द्र भइहाल्यो, जहाँका नागबेली

गल्लीभित्र अध्यारो सुरुङझैं लाग्ने ससाना बाटाहरूले एउटा विहारलाई अर्कोसँग भित्रभित्रै जोडेका हुन्छन् । अहिले पनि काठमाडौं उपत्यकामा कम्तीमा ३१७ वटा विहारहरू सञ्चालनमा छन्, जसमध्ये सबभन्दा बेसी ललितपुरमा १७१, काठमाडौंमा १२१ र भक्तपुरमा २५ वटा भएको तथ्यांकले देखाउँछ ।

इतिहासतर्फ फर्कंदा, उपत्यकाका विहारहरू बुद्ध धर्म–दर्शन मात्र नभई ज्ञान–विज्ञानका अनेक क्षेत्रमाथि अध्ययन–अनुसन्धान हुने थलोका रूपमा स्थापित थिए । मानवशास्त्री मेरी स्लसरले ‘नेपाल मण्डला’ पुस्तकमा उल्लेख गरेझैं, यहाँका महाविहारहरू उत्तर भारतका नाम चलेका बौद्ध अध्ययन केन्द्रभन्दा कम थिएनन् । खास गरी पाटनमा रहेको विहारहरूको सञ्जाल विश्वविद्यालयसरह नै थियो, जहाँ नालन्दा, विक्रमशिला, ओदान्तपुरीजस्ता भारतीय बौद्ध केन्द्रबाट समेत पढ्न–पढाउन र सिक्न–सिकाउन आउँथे । ती सबै भारतीय अध्ययन केन्द्रहरू तेह्रौं शताब्दीमा मुस्लिम आक्रमणमा परेर ध्वस्त भएपछि त काठमाडौं उपत्यकाको महत्त्व अरू बढ्यो । यो ठाउँ बुद्ध धर्म र यससँग सम्बन्धित ग्रन्थहरू लेख्ने, जोगाउने र अध्ययन गर्ने मुख्य थलो बन्यो । त्यससँगै समृद्ध भएका विहारहरू सांस्कृतिक र सामुदायिक शक्तिका केन्द्र पनि बने । त्यसैताका ती विहारहरूमा विकसित धार्मिक–तान्त्रिक अभ्यासले बुद्ध धर्मको नयाँ वज्रयानी धार मौलाउने र फस्टाउने अवसर पायो, जो काठमाडौंबाट हिमालपारि भोट–चीन हुँदै थुप्रै मुलुकहरूसम्म पुग्यो ।

काठमाडौंले देखेका अनेक युद्ध र हिंसाका ऊहापोहले गर्दा समयक्रममा ज्ञानका ती केन्द्रहरू मुर्झाउँदै गए । त्यहाँ पहिलेजस्तो ज्ञानको अभ्यास नभए पनि ज्ञानका भण्डारचाहिँ अझै निकै हदसम्म सुरक्षित छन्, चाहे पाटनको हिरण्यवर्ण महाविहारमा रहेको सुनाक्षरको प्रज्ञा पारमिता होस् वा थुप्रै स–साना विहारहरूमा समेत भेटिने हस्तलिखित ग्रन्थ, अभिलेख र ठ्यासफूहरू नै होऊन् । भलै त्यस्ता ओझेलमा परेका थुप्रै लिखित दस्तावेजहरूलाई बुझ्ने, पहिल्याउने र मूलधारको बहसमा ल्याउने यथोचित प्राज्ञिक प्रयत्न भएको देखिन्न, जसले नेपाली इतिहासका कतिपय अस्पष्टतालाई फुकाउने र नवीनतम तथ्यहरूलाई सामुन्ने ल्याउने भूमिकासमेत खेल्न सक्छन् ।

यसबाहेक, माथि भनिएझैं, उपत्यकाका विहारहरू स्थानीय बासिन्दाको दैनिकीसँगै जोडिएका छन् । त्यो उनीहरूको धार्मिक–आध्यात्मिक आस्थाको विशिष्ट थलो मात्र होइन, विभिन्न जात्रा, पर्व लगायत सांस्कृतिक गतिविधिलाई जीवन्त राख्ने माध्यमसमेत हुन् । खास गरी विहारसँग जोडिएका विभिन्न संघ र गुठीहरूका कारण प्राचीन सांस्कृतिक सम्पदाहरू जोगिँदै आएका हुन् । त्यसले गर्दा ती विहारहरू आफैंमा जीवित संग्रहालयजस्ता धरोहर हुन्, जसलाई पश्चिमा अवधारणाको म्युजियममा परिणत गर्न खोज्नु कुनै दृष्टिबाट उचित हुँदैन । इतुंबहाःबाट काठमाडौंका विहारहरूमा पस्न खोज्ने रुबिन म्युजियमको प्रयत्नको विरोध सायद यसैकारण भइरहेको होला ।

उपत्यकाका विहार र मठ–मन्दिरहरूमा मान्छे र सम्पदाबीच हजारौं वर्षदेखिको अटुट भावनात्मक सम्बन्ध छ, जहाँ मूर्तिहरूलाई छोइन्छ, छेवमै बसेर पूजा–आराधना गरिन्छ । ‘भगवान्’ लाई कुनै कोठामा सिसाभित्र राखेर परबाट सरक्क हेर्न मात्र मिल्ने म्युजियमको प्रबन्ध यो सांस्कृतिक परम्पराविपरीत हुन जान्छ । यदि इतुंबहाःमा कुनै सफा एसी कोठाभित्र मूर्ति र अन्य कलाकृतिलाई चटक्क सजाएर राखियो भने स्वतः विहारप्रतिको परम्परागत आस्थाभन्दा चकाचक विदेशी म्युजियमको महत्त्व र आकर्षण बढ्दै जानेछ । फेरि त्यो म्युजियम कुनै छुट्टै भवनमा होइन, विहारभित्रै त्यसकै अंगका रूपमा राख्न खोजिँदै छ । त्यसो भयो भने त्यो सांस्कृतिक सम्बन्धविच्छेदको सुरुआत पनि हुनेछ ।

गत बुधबार हामी इतुंबहाः विहारमा छिर्न लाग्दा ढोकैमा ल्यापटप लिएर बसेका एक रिसेप्सनिस्टलाई देख्यौं । काठमाडौंका विहारमा यो आफैंमा उदेकलाग्दो दृश्य हो । सायद म्युजियमकरण हुन थाल्दाको परिदृश्य होला । नत्र नेपाली विहारहरू आफैंमा खुला, सार्वजनिक वृत्त हुन्, जहाँ जोकोही पनि जान–आउन सक्छ; नाम लेख्ने, टिकट लिने अनि सिसाभित्रका ‘भगवान्’ लाई परैबाट हेर्ने चलन हाम्रो होइन । निश्चय पनि कतिपय दरबार, पुरातात्त्विक महत्त्वका स्थान र भौतिक वस्तुलाई प्रदर्शनी या संग्रहालयमा राख्न सकिएला, तर दैनन्दिन धार्मिक–सांस्कृतिक अभ्यास हुने ठाउँलाई त्यही रूपमै छाड्नु उचित हुन्छ । फेरि त्यस्तो केही गर्नैपरे पनि त्यो स्थानीय अग्रसरतामा गर्नुपर्ने होला, बाहिरियाहरू आएर यसको अप्राकृतिक प्रबन्ध गरिदिनु ठीक होइन ।

इतुंबहाःमा यो रोग लाग्यो भने सायद केही वर्षभित्र काठमाडौं र पाटनका थुप्रै विहारहरूमा यसको संक्रमण फैलनेछ । किनभने प्रायः सबैसँग आर्थिक स्रोतसाधनको कमी छ; स्थानीय सरकारहरूले त्यसतर्फ ध्यान दिन सकेका छैनन् । अहिले इतुंबहाःमा पनि एकाध हजार डलरको सहयोग प्रवाह गरेर रुबिन म्युजियमले खुट्टा हाल्न खोजेको हो । यहाँ यो प्रयोग सफल हुनासाथ पश्चिमा मुलुकका अनेक सम्पन्न म्युजियमहरूले यसै गरी ‘डोनेसन’ दिने र विहार, मन्दिरहरूमा आफ्नो नाम राख्दै भित्रिने सिलसिला सुरु हुनेछ । त्यससँगै काठमाडौंको हजारौं वर्षदेखि जोगिएको मौलिक सांस्कृतिक पहिचान र विशिष्टता बाँकी रहनेछैन । त्यसैले होला, सम्पदाकर्मी रवीन्द्र पुरीले रुबिनमार्फत सुरु गरिएको यो सांस्कृतिक अतिक्रमणलाई नवऔपनिवेशिक हस्तक्षेप भनेर आलोचना गरेका छन् ।

अहिलेसम्म उपत्यकाको कुनै पनि विहारलाई यसरी म्युजियममा परिणत नगरिनुको कारण पनि यही होला । अर्को कारणचाहिँ, भौतिक सम्पदाहरूको संरक्षणसँग जोडिएको चिन्ता हो । किनभने, अर्का एक सम्पदाकर्मीले भनेझैं— अघिल्लो पुस्ताले यहाँबाट अनेक कलाकृति चोरेर लगे, पछिल्लाले त्यसैलाई राखेर म्युजियम चलाएका छन्, र अहिले फेरि नयाँ कलाकृति लैजाने नयाँ–नयाँ चोरबाटोहरू खोज्दै छन् ।

खासमा सन् ’६० को दशकयता नेपालबाट पुरातात्त्विक महत्त्वका थुप्रै वस्तु बिदेसिएका थिए । त्यस बेला जनतामा अहिलेजस्तो सचेतना पनि थिएन । विदेशीले थोरै पैसाको प्रलोभनमा पारेरै मूर्तिहरू लैजान सक्थे । कतिसम्म भने, नेपाली सम्पदा र संस्कृतिमाथि गहकिला किताब लेखेका कतिपय विदेशी विज्ञहरूसमेत यस्तो धन्दामा सामेल थिए । त्यस्ता प्रवृत्तिलाई केही नेपाली अध्येताले पनि जानेर वा नजानेर सघाए, जो आफ्नो क्षेत्रका स्वनामधन्य विज्ञका रूपमा अहिले पनि परिचित छन् । पछि त ठूलै स्तरमा मूर्ति तस्करी हुन थाल्यो । शक्तिकेन्द्रमा रहेका ठूलाबडाले समेत ‘क्रेन’ लगाएर मूर्ति उखेलेको भनिने फूलबुट्टा भरिएका कथाहरू पनि चर्चामा आए । २०४६ पछि एक–डेढ दशकसम्म पनि मूर्ति चोरीको बिगबिगी रह्यो । यहाँबाट अनेक उपाय लगाएर लगिएका कलाकृति पश्चिमा संसारमा बिक्री हुँदै लिलामी केन्द्रहरूमा पुगे । धनाढ्य ‘कलेक्टर’ हरूले तिनलाई त्यहाँबाट महँगोमा किनेर बैठककक्ष सजाउने वस्तु बनाए । कुनै विश्वविद्यालयहरूमा पुगे । कतिपयचाहिँ रुबिनजस्ता म्युजियमहरूमा प्रदर्शनीको वस्तु बने ।

बल्ल केही वर्षयता सार्वजनिक जागरुकता बढेको, कतिपय अन्तर्राष्ट्रिय सञ्जालहरूले धेरै चर्चामा नआई प्रभावकारी अभियान चलाएको आदि कारणले गर्दा बिदेसिएका सीमित कलाकृति यसबीच स्वदेश फर्किन पाएका छन् । थुप्रै उतै ‘ट्रान्जिट’ मा छन् । जस्तो कि, रुबिन म्युजियमले आफूसँग हिमाली क्षेत्रकै सबभन्दा बेसी पुरातात्त्विक संग्रह रहेको भन्दै गर्व गर्ने गरेको छ । खासमा रुबिनसित नेपालबाटै चोरेर लगिएका करिब ९३ वटा कलाकृतिहरू छन्, जसमध्ये २० वटा उसले प्रदर्शनीमै राखेको सम्पदाकर्मीहरूले पत्ता लगाएका छन्, र त्यसको सूची नै सार्वजनिक गरेका छन् । उनीहरूकै निरन्तर दबाबपछि रुबिनले ‘उडिरहेकी अप्सरा’ कुँदिएको कलात्मक काठे तोरणसहितका दुई कलाकृति गत चैतमा फर्काएको थियो । ती कलाकृति खासमा इतुंबहाःबाटै चोरिएका थिए । विडम्बना, अहिले रुबिन त्यही महाविहारभित्र ‘सम्पदा संरक्षक’ को भूमिकामा पस्न खोज्दै छ । यदि उसले आफ्नो छवि साँच्चै सुधार्न खोजेको हो भने यो विहारलाई म्युजियममा परिणत गराउने होइन, सबभन्दा पहिले आफूसँग रहेका सबै नेपाली कलाकृति तुरुन्त फर्काउने अग्रसरता लिनुपर्छ ।

इ कान्तिपुरबाट ।।

प्रतिक्रिया दिनुहोस्