Ad imageAd image

तिव्र गतिमा फैलँदै ‘लम्पी स्किन’

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
4 Min Read
Aa

१२ साउन, काठमाडौं । गाईभैंसीमा देखिने लम्पी स्किन रोग महामारीकै रुपमा फैलिएको छ । रोग निवारणका लागि सरकारी तहबाट खोप अभियानलाई तीव्रता दिए पनि पशुमा संक्रमण र मर्ने दर भने नियन्त्रण भएको छैन ।

बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट सात महिनाको अवधिमा करिब साढे चार हजारभन्दा बढी पशु मरिसकेका छन् । गत २०७९ पुसदेखि २०८० साउन ८ गतेसम्मको तथ्यांकअनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा ४ हजार छ सय १८ पशु मरेका छन् ।

संक्रमणका कारण गाई, गोरु, भैंसी, बाच्छा/बाच्छीसहित पशुहरु मरेको बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकी पशु विकास अधिकृत डा.सविना मिश्रका अनुसार प्रदेशमा लम्पी स्किन रोगका कारण १ लाख ५३ हजार नौ सय ५ पशुहरु प्रभावित भएका छन् ।

तथ्यांकअन्सार बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा पशु मरेका छन् । साउन ८ गतेसम्मको तथ्यांकअनुसार काभ्रेमा लम्पी स्किनका कारण छ सय ८१ वटा गाई र गोरु मरेका छन् ।

- Advertisement -
Ad image

यस अवधिमा सिन्धुलीमा ६५०, धादिङमा ५१३, मकवानपुरमा४४६, नुवाकोटमा ४११, सिन्धुपाल्चोकमा ३६०, काठमाडौँमा ३५७, भक्तपुरमा २९३, चितवनमा २४२, रामेछापमा २२९, दोलखामा १७४ र रसुवामा १७३ र ललितपुरमा ८९ पशु मरेका छन् । लम्पी स्किन रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोकमा मात्र ३० हजार ७१४ वटा पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

रोगबाट सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार ४८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार ३९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार १४८, चितवनमा १० हजार ४४, दोलाखामा ७ हजार ४५६, भक्तपुरमा ६ हजार ४१३, काठमाडौँमा ५ हजार ३७, रसुवामा १ हजार ८०७ र ललितपुरमा १ हजार ४३१ वटा पशुहरु लम्पी स्किन रोगबाट प्रभावित भएको जनाइएको छ ।

तथ्याङ्क अनुसार लम्पी स्किनबाट प्रभावित हुने सबैभन्दा धेरै गाई रहेको छ । बागमती प्रदेशमा सबैभन्दा पहिला यो रोग २०७९ पुसमा मकवानपुरगढी गाउँपालिका वडा नं. २, ३, ४ र ६ मा देखा परेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरका अनुसार यो रोग मकवानपुरपछि माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र बैशाखमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा फैलिएको थियो ।

रोग फैलँदै गएपछि सोविरुद्धको खोप लगाउने कामलाई पनि तीव्र पारिएको छ । रोग नियन्त्रणका लागि संक्रमित नभइसकेका एक लाख १७ हजार नौसय ५ वटा पशुमा खोप लगाइसकिएको निर्देशनालयले जनाएको छ । हालसम्म १ लाख १५ हजार ६९७ गाई र ५ हजार १०८ भैंसीलाई खोप लगाइसकिएको हो ।

निर्देशनालयकी पशु विकास अधिकृत डा. मिश्रका अनुसार साउन २५ गतेदेखि संक्रमण नफैलिएको क्षेत्रमा सप्ताहव्यापी खोप अभियान नै सञ्चालनको तयारी छ । लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्युसमेत हुने गरेको छ । लम्पी स्किनका कारण पशुपालक किसान निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्