Ad imageAd image

आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयहरु हुन लागे बन्द

खबर खुराक
खबर खुराक १६ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

१६ साउन,कैलाली । मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

काठमाडौंमा जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरुले बताएका हुन् । आँखा पाक्ने रोग मनसुन नसकिए सम्म जारी रहने पनि चिकित्सकले जनाएका छन् ।

कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ।

विद्यार्थीमा सङ्क्रमण बढ्न थालेकाले विद्यालयमा केही दिन बिदा दिन थालिएको हो। यसै क्रममा लम्कीचुहा नगरपालिकामा रहेका प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुमा तीन दिन बिदा गरिएको छ। प्याब्सन र एनप्याब्सनको आज बसेको संयुक्त बैठकले साउन १७ देखि १९ गतेसम्म विद्यालयमा बिदा गर्ने निर्णय गरेको हो।

- Advertisement -
Ad image

आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो।

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि धनगढीका केही विद्यालयले पनि बिदा दिएका छन्। कैलाली, कञ्चनपुरमा अहिले यो रोगको प्रकोप व्यापक छ। भाइरल कन्जंक्टिभाइटिसका कारण स्वास्थ्य संस्थामा आँखा उपचार गराउनेको सङ्ख्या बढ्दो छ। यसैगरी, स्वास्थ्य संस्थामा आँखामा हाल्ने औषधिकोसमेत अभाव देखिन थालेको छ। औषधिको माग धान्न धौ धौ भएको धनगढीस्थित आँखा उपचार केन्द्रका प्रविण चौधरीले बताउनुभयो। उहाँले दैनिक संयौं सङ्ख्यामा मान्छे औषधि र चश्मा लिन आउने गरेको जानकारी दिनुभयो।

भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण भएमा आँखाबाट आँशु बग्ने, बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिने, आँखा खोल्न गाह्रो हुने, घाममा हेर्न वा बस्न गाह्रो हुने, आँखा पोल्ने, आँखा बिझाउने, आँखाको ढकनी सुन्निने, चिलाउने र जलन हुने जस्ता लक्षण देखा पर्दछ।

यो रोगको सङ्क्रमणबाट जोगिनका लागि सफा पानीले आँखा धुने, आँखा छुनुभन्दा अगाडि राम्रोसंग साबुन पानीले हात धुने, आँखा सम्बन्धी केही समस्या परेमा तुरुन्त डाक्टरसंग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नु पर्ने जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्