Ad imageAd image

जनमतसंग्रहको नतिजामा बीपीको दार्शनिक चिन्तन

खबर खुराक
खबर खुराक १७ श्रावण २०८०, बुधबार
11 Min Read
Aa
दुर्गेशमान सिंह

नेपाली राजनीतिको अविस्मरणीय परिघटना जनमतसंग्रह २०३७ वैशाख २० मा भएको थियो । अघिल्लो वर्ष भएको जनमतसंग्रहको घोषणाले तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थालाई हल्लाएको थियो भने मतदानपश्चात प्राप्त नतिजाले नेपाली कांग्रेस र प्रजतान्त्रिक समुदायलाई ।

तर, त्यस कालका राजनीतिक नायक बीपी कोइराला उक्त नतिजाबाट न हल्लिनुभयो न त उत्साही नै हुनुभयो । मैले बीपीजस्तो ‘इन्डिफरेन्स’ व्यक्तित्व आजसम्म अर्को देखेको छैन । प्राप्ति वा अप्राप्ति दुइटै अवस्था उहाँका लागि सामान्य हुन्थे । साधकहरू जुनसुकै साधनबाट पनि सन्तुष्ट हुन्छन् भन्ने ज्ञान मैले उहाँबाटै पाएको थिएँ ।

जेठ १ गते सबेरै रेडियो नेपालबाट जनमतसंग्रहमा सुधारिएको पञ्चायत २४ लाख मत प्राप्त गरी विजयी भएको समाचार प्रसारण भएको थियो । यसपछि पञ्चायतका कार्यकर्ताहरूमा विजयभाव उत्पन्न भएको थियो । नेपाली कांग्रेसका नेता–कार्यकर्ता, बहुसंख्यक बुद्धिजीवी र कलेज विद्यार्थीहरू, स्वतन्त्र जागरुक नागरिकहरूका लागि भने त्यो नतिजा निराशाजनक थियो । यसले मानिसहरूलाई आश्चर्यचकित मात्रै पारेन, अपितु यो आक्रोशको कारण पनि बन्यो ।

राजधानी काठमाडौंको बौद्धिक जमातका लागि पत्यारै गर्न नसकिने नतिजा थियो त्यो । त्यस दिन म साथीभाइहरूसँग यही नतिजाका सन्दर्भमा कुराकानी गरिरहेको थिएँ । त्यही बेला अचानक गणेशमानजीको फोन आयो । उहाँले भन्नुभयो, ‘दुर्गेश, तिमीलाई एकपल्ट बीपीले भेट्न खोज्नुभएको छ । उहाँको निवास चाबहिलमा आउनू ।’

जनमतसंग्रहको अनपेक्षित नतिजालाई बीपीले बिनासर्त स्विकार गर्नुभएको थियो र हामी धेरै युवा स्तब्ध मात्र होइन, क्रुद्ध नै थियौं । तैपनि गणेशमानजीले भन्नुभए बमोजिम अपराह्न पाँच बजेतिर म बीपी निवास पुगें । गणेशमानजी घर फर्किसक्नुभएको रहेछ । त्यहाँका सहायकले मलाई सरासर बीपीको कोठामा लिएर गए । बीपी एउटा बटुकामा दूध–भात खाँदै हुनुहुन्थ्यो । मलाई एक कप चिया दिइयो । म चियाकप समाएर बीपीतिर हेरिरहेको थिएँ, ठीक त्यसै बेला बीपी गम्भीर देखिनुभयो र भन्नुभयो, ‘दुर्गेश, जनमतसंग्रहको नतिजा पञ्चायतको पक्षमा गएको थाहा पायौ नै होला । मैले पनि नतिजा स्वीकार गरी वक्तव्य दिएँ, तिमीलाई कस्तो लाग्यो ?’ यो मलाई अन्यमनस्क पार्ने प्रश्न थियो । बीपीको वक्तव्य र जनमतसंग्रहको नतिजा स्वीकार गर्ने निश्चयमा म बढी त के भन्न सक्थें र ! तैपनि भनें, ‘पञ्चायतसँग चुनावमा प्रयोग गर्न प्रशासन, पैसा र सुरक्षा संयन्त्र सबै थियो । यी सबै अवयवको प्रयोग र उपयोग गरिएको थियो, चुनाव निष्पक्ष नभएर दबाबपूर्ण भएको हुन सक्छ ।’

- Advertisement -
Ad image

मेरा कुरा ध्यानपूर्वक सुनिसकेपछि उहाँले भन्नुभयो, ‘हो, धाँधलीका सवालमा हामीले आम जनताले बुझ्ने भाषाशैलीमा बोल्न र तर्क राख्न सक्नुपर्छ । प्रशासन, पैसा, पञ्चायतसँग थियोÙ त्यसको दुरुपयोग पक्कै भएको होला । जनताले मत खसालेका पेटिकाहरू फेरबदल गर्ने, जानाजानै मतपत्रहरू हाल्ने–झिक्ने खालको काम धाँधलीको प्रत्यक्ष रूप हो । जनताले देख्ने–बुझ्ने धाँधली त्यही हो । त्यस प्रकारका धाँधलीका प्रमाणहरू हामीसँग छन् ? म भन्छु— छैन । यसरी धाँधली भयो भन्ने प्रत्यक्ष प्रमाण छैन हामीसँग ।’

यति भनिसकेपछि, स्वभावतः उहाँ बढी दार्शनिक पक्षमा जानुभयो र भन्नुभयो, ‘जनमतसंग्रहले गर्दा हामीले कस्तो अवसर पायौं, त्यो पनि हेर्नुपर्छ । चुनावको दौरान धेरै समयपछि हामीलाई जनतासमक्ष पुग्ने अवसर प्राप्त भयो । पञ्चायतले जनता र हाम्राबीचको प्रत्यक्ष सम्बन्ध टुटाएको २० वर्ष भएको थियो । यसले हामीलाई जनतासम्म पुग्ने अवसर दियो । जनतासँग सम्पर्क बढाउन समय त लाग्छ नै । जनतासमक्ष आफ्ना सही विचारहरू पुर्‍याउन र आफ्ना कुरा बुभाउन हामीले समय पायौं । यो अवसरको बिस्तारै उपयोग गर्दै जानुपर्छ । आज जनताको बहुमतले हामीलाई हरायोÙ मिहिनेत गर्दै अगाडि बढ्दै जाँदा तिनै जनताले हाम्रा कुराहरू सुन्ने मौका पाउनेछन्, बुझ्नेछन् उनीहरूकै लागि हामी परिचालित भएका छौं, जनताकै अधिकार र उन्नतिका लागि हामीले आह्वान गरेका हौं भन्ने आफैं बुझ्नेछन् । देश भित्रबाहिर हामीले तारतम्य मिलाउँदै जानुपर्छ । यसो गर्न सक्यौं भने जनताले भोलि हामीलाई बहुमत दिनेछन् । हामीले आफ्नो विचार र आदर्शसहित जनताको अधिकारका निमित्त संघर्ष गरेका छौं । दस वर्ष लाग्न सक्छ, तर त्यो दिन आउनेछ, सत्यको जित हुनेछ । हेर, हिजोसम्म ‘द बल युज्ड टु बी इन द प्यालेस, नाउ द बल ह्याज कम टु पिपल्स कोर्ट’ (हिजोसम्म बल दरबारभित्र सीमित थियो, आज त्यो बल जनताको दैलोमा आएको छ) । आज जनमतको जित भएको छ, जनमतसंग्रहमा जनताको जित हुने अवस्था आएको छ । प्रजातन्त्र भनेको जनमतको कदर हुने प्रणाली हो । त्यो प्रणाली अब नेपालमा स्थापित भएको छ । हाम्रो संघर्ष प्रजातान्त्रिक पद्धतिको निमित्त हो । त्यसमा हामी राम्ररी फड्को मार्न सफल भएका छौं ।’

तर्कशक्तिका धनी बीपीका कुरा सुनेपछि म एकदमै नाजवाफ भएँ । बीपीलाई जवाफ दिने वा प्रतितर्क गर्न सक्ने अवस्थामा म थिइनँ । नभन्दै, त्यसको दस वर्ष नपुग्दै देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुन पुग्यो । बीपीको सुखदुःखका अविरल सहयात्री गणेशमानजीको सर्वोच्च नेतृत्वमा भएको जनआन्दोलनले पञ्चायत पराजित गर्‍यो, २०४६ सालमा ।

वास्तवमा जनमतसंग्रहको घोषणा नेपालको इतिहासमा एक अपूर्व राजनीतिक परिघटना थियो । पाकिस्तानमा भूपू प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई दिइएको फाँसीको विरोधक्रममा काठमाडौंमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरे । विरोधलाई पञ्चायतले दमन गर्‍यो । दमनले विद्यार्थी आन्दोलन उग्र भयो ।

आन्दोलनलाई सम्बोधन गर्नका लागि श्री ५ वीरेन्द्रबाट अप्रत्याशित रूपमा जनमतसंग्रहको घोषणा भयो । राजा वीरेन्द्रको ‘जनताले पञ्चायत व्यवस्था अथवा बहुदलीय व्यवस्थामध्ये के चाहन्छन्, जनताको स्पष्ट धारण के हो बुझ्नका लागि जनमतसंग्रहको घोषणा गरिएको छ’ भन्ने भनाइमा दुई थरी प्रतिक्रिया आएका थिए । पञ्चायत व्यवस्थासंँग प्रत्यक्ष सरोकार जोडिएका पञ्चहरू, पञ्चायतका हिमायतीहरूले राजाबाट हतारमा जनमतसंग्रह घोषणा गरियो भनेका थिए । अर्कातर्फ, राष्ट्रकै विद्वद्वर्ग, अन्तर्राष्ट्रिय समुदाय र प्रजातान्त्रिक देशहरूले प्रजातन्त्र शाश्वत र नैसर्गिक विषय हो, यसले नेपाललाई प्रजातन्त्रतर्फ संक्रमण गराउँछ भन्ने धारणा राखेका थिए । सरकार, पञ्चायत र पञ्चहरूले भने सामान्य विद्यार्थी आन्दोलनका कारण जनमतसंग्रह घोषणा गरिहाल्नुपर्ने अवस्था रहेको मान्न सकिरहेका थिएनन् । पञ्चहरूको त्यस्तो दृष्टिकोणका बावजुद, राजनीतिक उदारीकरणको अभ्यास थालनी गर्ने एउटा उपयुक्त अवसरका रूपमा रह्यो राजाको घोषणा ।

त्यस बेला, राजा वीरेन्द्रका सन्दर्भमा एउटा भनाइ (महेन्द्रमान सिंह, ‘फरेभर इनकम्प्लिट’) प्रख्यात थियो, ‘अफ किङ वीरेन्द्र, इट इज सेड द्याट ही इज अ जेन्टलम्यान किङ, अ बेनभोलन्ट मोनार्क एन्ड अ रेलक्ट्यान्ट अटोक्र्याट ।’ अर्थात्, राजा वीरेन्द्र एक भलादमी र उदार नरेश तथा एक अनिच्छुक स्वेच्छाचारी हुन् ।

जनमतसंग्रह घोषणा (२०३६ साल) हुँदा म कृषि आयोजना केन्द्रको रापती एकीकृत ग्रामीण विकास योजनामा आबद्ध थिएँ । त्यस बेला त्यही योजना अन्तर्गत अध्ययन टोली नेताको हैसियतले रुकुमको चौरजहारीबाट सल्यानतिर जाँदै गर्दाको एउटा घटनाको याद आउँछ । हामी जंगलको बाटो हिँडिरहेका थियौं । त्यत्तिकैमा, एक जना भरिया हामीसँगै मिसिए । हामीले जनमतसंग्रहका विषयमा गरेको कुराकानीमा उनी चाख दिइरहेका थिए । म जता जान्छु, उनी उतै आउँथे । कहिले चुरोट त कहिले सलाई माग्ने, कहिले चिया खाने निहुँमा उनी पछि लाग्ने गरिरहेपछि मैले सोचें, ‘यी भरिया को हुन् ? किन मलाई पछ्याइरहेका छन् ? कतै गुप्तचर त होइनन् ?’ मनमा चिसो पस्यो । मौका मिलाएर मैले उनलाई सोधें, ‘ओ दाइ, के हो ? मेरो कुरा निकै घत लागेजस्तो छ नि ?’

त्यस बेला सुन्ने गरिन्थ्यो— पश्चिम पहाड वा अन्य कतै भरिया लिएर हिँड्नुपर्ने ठाउँमा प्रशासनले गुप्तचरहरूलाई भरियाका रूपमा प्रयोग गर्छ, सरकारी कर्मचारीहरू र विकासे कार्यकर्ताहरूको राजनीतिक झुकाव पत्ता लाउन । तर, उनले त्यसपछि जे भने त्यस कुराले मलाई आश्चर्यमा पार्‍यो । उनले उल्टै प्रतिप्रश्न गरेका थिए, ‘अचेल बीपी कोइराला र गणेशमानसिंह कहाँ हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ?’ उनलाई उत्तर दिनुभन्दा पनि बीपी र गणेशमानजीको राजनीतिक प्रभाव यस्तो अनकन्टार ठाउँसम्म पनि फैलिएको रहेछ भन्ने थाहा पाएर मलाई सुखद अनुभूति भयो । यसबाट ममा उहाँहरूप्रतिको विश्वासलाई अझ बढायो ।

निश्चय पनि, जनमतसंग्रहले राजनीतिक दलहरूलाई जनताका घरघरमा जाने अवसर प्रदान गर्‍यो । राजनीतिक सापेक्षताका आधारमा नेता र जनताबीच संवादको वातावरण बनायो । आम मानिस अधिकार, स्वतन्त्रता, आफ्नो जीवनवृत्तिमा सुधार चाहन्छन् भन्ने प्रमाणित गर्दै लग्यो । आखिर, ईश्वरले रचना गरेको मानिसको मनोविज्ञान पनि निरन्तर प्रगतितिर उन्मुख रहिरहनु हो ।

स्वतन्त्रता प्यारो हुन्छ

बीपी र गणेशमानजीसँग जोडिएको अर्को घटना पनि स्मरण गरौं । २०३३ सालमा स्वदेश फर्कने क्रममा बीपी र गणेशमानजी बिहारको पुर्णिया जेल जानुभयो । त्यहाँ सुशील कोइराला लगायतलाई थुनिएको थियो । यस प्रसंगलाई बीपी बारम्बार गम्भीर मुद्रामा उल्लेख गर्नुहुन्थ्यो । त्यहाँ बीपीले जेलमा रहेका नेपाली राजनीतिक साथीहरूसँग भन्नुभएछ, ‘अब हामी नेपाल फर्कन लागेका छौं, त्यहाँ पनि हामीलाई मुद्दा चलाइने निश्चित नै छ । हामी बाघको मुखमा जाँदै छौं, यी कुरालाई विचार गरेर तिमीहरू जेलमा बस्नू… ।’

बीपीले आफ्नो भनाइ पूरा नगर्दै गणेशमानजी बोल्न थाल्नुभयो, ‘कानुन मात्र हेरेर पनि हुँदैन, यो त राजनीतिक मुद्दा हो । नेपाल र भारतका राजारानीहरूले जे सोचिरहेका छन्, त्यो प्रजातन्त्रविरोधी छ । परिस्थिति यस्तै रहँदैन, परिवर्तन हुन्छ । यो पनि सोचेर बस्नू । नेपालका राजाले पनि हामीलाई लामो समय थुन्ने वा मार्ने सम्भावना म देख्दिनँ ।’ अनि उहाँले जेलमा रहेका साथीहरूलाई ढाडस दिँदै भन्नुभएको थियो, ‘तिमीहरू चाँडै छुट्छौ ।’

कालान्तरमा गणेशमानजीको बोली सही साबित भयो । बीपीमा इन्दिरा गान्धीको आपत्काल, सिक्किम विलयजस्ता घटनाले केही हदसम्म नैराश्य ल्याएको मान्न सकिन्छ र उहाँ आफैं पनि सो कुरा भन्नुहुन्थ्यो । बीपीले सुशील कोइरालालाई ‘भारतमा इमर्जेन्सी लागू भएको छÙ लामै जान पनि सक्छÙ त्यसकारण लामै समय जेलमै बस्ने मनस्थिति बनाउनू’ भन्दै हुनुहुन्थ्यो । यसैबीच गणेशमानजीले बीपीको कुरा काट्दै भन्नुभएछ, ‘हेर साथी हो, यो आपत्काल धेरै लामो समय जान सक्दैन । बीस वर्षदेखि आत्मसात् गरेको प्रजातन्त्र त्याग्न भारतीय जनता तयार छैनन्, जनताले समर्पण गर्दैनन् ।’ यहाँ पनि गणेशमानजीको ‘नेटिभ इन्स्टिङ्क्ट’ सत्य साबित भयो । आपत्काल फिर्ता लिएर इन्दिरा गान्धीले आम चुनाव घोषणा गर्नुपर्‍यो । आपत्काल मुस्किलले डेढ वर्ष चल्यो ।

आफ्ना दलका कार्यकर्ता, सुरक्षा संयन्त्र, राज्य प्रशासन आदिको प्रयोगका माध्यमले प्रचण्ड बहुमत प्राप्त गर्छु भन्ने इन्दिरा गान्धीको आकांक्षालाई आम चुनावको नतिजाले धूलिसात् तुल्याइदियो । चुनावमा जनता पार्टीले बहुमत ल्यायो । गणेशमानजीले गरेको आकलन यहाँ पनि पुष्टि भयो । गणेशमानजीको ‘नेटिभ इन्स्टिङ्क्ट’ को बीपी पनि कायल हुनुहुन्थ्यो । एक पटक दिल्ली विश्वविद्यालयको हाम्रो होस्टलमा आउँदा बीपीले भन्नुभएको थियो, ‘हेर दुर्गेश, मैले जतिसुकै विश्लेषण गरे पनि अन्ततः गणेशमानजीको नेटिभ इन्स्टिङ्क्टले जे देख्छ नेपालमा त्यही भइरहेको हुन्छ ।’ बीपी त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई सायद आफैंप्रति भन्दा बढी विश्वास गणेशमानजीप्रति थियो ।

इ कान्तिपुरबाट ।।

प्रतिक्रिया दिनुहोस्