१७ साउन, बुटवल । लुम्बिनी प्रदेशमा पशुहरूमा लम्पी स्किन रोगको असर भयावह बन्दै गएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा सयौंको संख्यामा किसानका पशुचौपाया मरेका छन् । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार हालसम्म यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार ६ सय ४६ पशु मरेका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो ।त्यसयता प्रदेशका विभिन्न जिल्लामा गरी १ लाख ८१ हजार ९ सय ३५ पशु यो रोगको संक्रमणमा परेका छन् । निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण किसानले करोडौंको क्षति बेहोर्नु परेको जनाए ।
‘रोग नियन्त्रणका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौं’, उनले भने, ‘धेरै ठाउँमा खोप कार्यक्रम पनि सुरु भइसकेको छ । खोप पाएपछि धेरै चौपाया निको पनि भएका छन् ।’ तर अहिलेसम्म पशु चौपाया मर्नाले १२ करोड ५० लाख बराबरको क्षति भइसकेको उनले बताए ।
यस्तै हाल प्रदेशमा प्रदेशस्तरीय लम्पी रोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको पनि आलमले बताए । प्रदेशमा अहिले ३० लाखभन्दा बढीको औषधि तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले बताएको छ । तर, त्यो त्यती प्रभावकारी नदेखिएको किसानको गुनासो छ ।
यसैबीच हालसम्म ३८ हजार ७ सय ९३ खोप प्रयोग गर्नुका साथै १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको छ । त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको जनाइएको छ । स्थानीय तहबाट पनि लम्पी स्किनको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९ सय २७ पशु निको भएका छन् ।
लम्पी स्किन लागेका पशुबाट ५० प्रतिशतसम्म दूध उत्पादनमा कमी हुने निर्देशनालयले जनाएको छ । जसले गर्दा अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्