Ad imageAd image

साढे १२ बजे देखी २९ विमानस्थलका विमानको उडान बन्द

खबर खुराक
खबर खुराक १८ श्रावण २०८०, बिहीबार
2 Min Read
Aa

 १८ साउन, काठमाडौं । खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म (तीन महिना) दिउँसो साढे बाह्र बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

‘यो नियम जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनाका लागि हो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘असोज १३ गतेसम्म दुर्गमका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि बन्द हुने छन् ।’ यो नियम अनुसार, अब ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बाग्लुङ, दार्चुला र मेघौली विमानस्थलमा १२ः३० बजेपछि उडान हुने छैनन् ।

प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले उडान सञ्चालनको समय बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म तोकेको छ । तर, वायुसेवाहरुको अनुरोधमा प्राधिकरणले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरुलाई १२ः३० पछि पनि चार्टर/व्यवसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो ।

केही दिनअघि नेपालगञ्ज विमानस्थलले खराब मौसमका कारण सिमकोटको उडान रोकेको थियो । तर, त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलले दिउँसो ३ बजे एक निजी वायुसेवालाई काठमाडौंबाट सिमकोट उडान अनुमति जारी गर्‍यो । यो प्रकरणपछि प्राधिकरणले उडान अनुमतिमा संलग्न कर्मचारीहरुलाई चेतावनी दियो । ‘उक्त घटना जानकारीमा आएपछी सम्बन्धित कर्मचारी र सरोकारवालाई चेतावनी दिइएको थियो,’ ती उपमहानिर्देशकले भने, ‘एउटा विमानस्थलले मौसम खराबी हुँदा अर्कोले उडान अनुमति दिनु सर्वसाधरणको जीउधनको सुरक्षामा संवेदनशील नहुनु हो ।’

- Advertisement -
Ad image

उक्त घटनापछि प्राधिकरणले अतिरिक्त समयमा चार्टर उडान अनुमति दिने क्षेत्राधिकार काठमाडौंबाहिर रहेका विमानस्थल कार्यालय तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट झिकेको छ । ‘०४६ अघि नेपाल वायुसेवा निगमले दिउँसो १२ः३० बजेपछि दुर्गम उडानमा गर्दैनथ्यो । पाइलटले हुन्न भनेपछि कसैले पनि दबाब दिँदैनथे । कसैको पनि ज्यानलाई खतरा हुने गरी अब बर्खाको मौसममा उडान अनुमति जारी हुने छैन । हेरेर हुने भीएफआर उडान हुन सक्ने भए चार्टर उडानको गम्भीरताका आधारमा केन्द्र (प्राधिकरण) ले अनुमति जारी गर्न सक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्