Ad imageAd image

स्वास्थ्य बीमाबारे पाल्पामा सर्वदलीय छलफल

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २० श्रावण २०८०, शनिबार
2 Min Read
Aa

पाल्पा, २० साउन । पाल्पास्थित विभिन्न राजनीतिक दलहरूबीच स्वास्थ्य बीमाबारे शनिबार छलफल भएको छ ।

युनाइटेड मिसम अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका उपचार स्थगित हुने भएपछि दलहरू छलफलमा जुटेका हुन् ।

तानसेनस्थित नेकपा एमालेको कार्यालयमा भएको छलफलमा मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि  स्वास्थ्य बीमा बोर्डमा भएको सहमति, मिसन अस्पताललाई बोर्डले पठाएको पत्र, अहिलेसम्म भएका प्रयास र मिसन अस्पतालले अगाडि सारेका मागबारे छलफल भएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।

यस्तै लुम्बिनी मेडिकल कलेज प्रभासमा समेत स्वास्थ्य बीमा कार्यक्रम पुनः लागू गर्न पहल गर्ने निर्णय भएको छ । पाल्पा अस्पताललाई थप अभिवृद्धि गर्नका एक जुट भएर अगाडि बढ्ने गरी छलफल भएको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

जिल्लाको सर्वपक्षीय विकासका सन्दर्भमा सबै दल एक भएर अगाडि बढ्ने सहमति भएको घिमिरेले बताउनुभयो ।

मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन मिसन अस्पताल, स्वास्थ्य बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयसँग निरन्तर संवाद र समन्वय जारी राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकालले बताउनुभयो ।

रामपुर अस्पताल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रको समस्याहरूका बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

छलफलमा प्रतिनिधि सभा सदस्य ठाकुर गहिरेले मिसन अस्पतालमा स्वास्थ्य बीमालाई निरन्तरताका लागि केन्द्रमा भएका बैठक, छलफल र सहमतिबारे जानकारी गराउनुभएको थियो ।

छलफलमा प्रतिनिधि सभाका सदस्यहरू ठाकुर प्रसाद गैेरे, नारायण प्रसाद आचार्य, नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गैरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा एकीकृत समाजवादीका यादवबहादुर रायमाझी, नेकपाका मीनबहादुर आले लगायत जसपा सहित अन्य दलका नेताको उपस्थिति रहेको थियो ।

मिसन अस्पतालले बक्यौता रकम समयमै पाउनुपर्ने, बीमा कार्यक्रम अन्तर्गत दररेट व्यवहारिक बनाउनुपर्ने, दाबी गरिएको सबै रकम उपलब्ध गराउनुपर्ने माग गर्दै मिसन अस्पतालले यही साउन २१ गतेदेखि स्वास्थ्य बीमाबाट हुने सबै उपचार स्थगित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्