२१ साउन,काठमाडौं । नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षमा भारतकी पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ।
आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने टी–२० महिला विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको बेला पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको हो। टी–२० महिला विश्वकपका लागि क्यानले २४ जनालाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ।
टी–२० महिला विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ। प्रतियोगिताका लागि नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसिया, बहराइन, भुटान, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन्। प्रतियोगिता हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने २ टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्।
नेपाली महिला क्रिकेट टोलीमा प्रशिक्षकको रुपमा नियुक्ति पाउने देविका पहिलो विदेशी हुन्। यसअघि कुनैपनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन्।
दायाँ हाते देविकाले भारतबाट १ महिला टेस्ट र १५ महिला ओडीआई खेलेकी छन्। देविका २०१४ देखि २०१६ सम्म भारतीय क्रिकेट बोर्डमा सहायक प्रशिक्षक रहिन्। २०१८ मा उनी बंगलादेशको राष्ट्रिय महिला क्रिकेटको प्रशिक्षक नियुक्त भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्