३२ साउन, काठमाडौं । गायिका सिम्रन परियारले एक सातामा १३ वटा गीत गाएकी छन् । उनले ६ दिनमा १३ वटा गीत गाएकी हुन् ।
सिम्रनले भनिन् “मैले यो पटक काठमाडौं आउँदा ६ दिनमा १३ वटा गीत गाएँ । अरु पनि थुप्रै गीतका लागि अफर आइरहेको छ,” , “तर, पढाई छुट्ने भएकाले बुधबार (आज) घर जाँदै छु ।”
सिम्रनले ‘उसलाई पाउन–२’, ‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेलीभित्र…’, ‘पानी परेको…’ सहित १३ वटा गीत गाएकी हुन् ।
युट्युब भिडियोमा सिम्रनको गायकी मन पराएपछि सुनील बीसीले बागलुङबाट काठमाडौं बोलाएर पहिलोपटक अवसर दिएका थिए ।
सुनीलले आफ्नो शब्द तथा संगीत रहेको ‘उसलाई पाउन–२’ गाउन दिएका थिए । यसको मेल भर्सन यसअघि नै प्रमोद खरेलले गाइसकेका छन् ।
कक्षा १२ मा पढ्ने सिम्रनले स्कूलबाट फर्किँदै गर्दा बाटोमै कुराकानी गरेकी थिइन् । स्कूलको पोशाकमै गरेको कुराकानीका क्रममा उनले केही गीतहरू गुनगुनाइन् ।
उनले गीत गाउँदै गरेको भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छाउँदै गए । सिम्रनको स्वरको धेरैले प्रशंसा गरे ।
केही दिनको अन्तरालमै उनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । अनि काठमाडौंबाट प्रस्ताव पुग्यो, गीत रेकर्डको ।
चार दिनअघि काठमाडौं आएर एउटा गीत रेकर्ड गरिन् ।
गीतकार एवं संगीतकार सुनिल बिसीले यसअघि प्रमोद खरेलको स्वरमा आएको आफ्नो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए ।
अघिल्लो दिन रेकर्डिङ स्टुडियोमै सामान्य खर्चमा भिडियो खिचियो । अर्को दिन हतार–हतारमा युट्युबमा सार्वजनिक गरियो ।
‘बागलुङकी सिम्रन परियारको पहिलो गीत’ भनेर ल्याइएको भिडियोको थम्बनेलमा युट्युबमा अन्तवार्ता दिँदै गर्दाको फोटो प्रयोग गरियो ।
शुक्रवार सार्वजनिक उक्त गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगट्यो । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ शीर्षस्थानमा छ ।
शुक्रवार नै सिम्रनलाई संगीतकार श्रीधर अधिकारीले ‘मुटुमै घाउ छ…’ बोलको गीत गाउन दिए, उसैगरी हतार–हतारमा । अघिल्लो दिन रेकर्डिङ र भिडियो छायांकन गरिएको गीत अर्को दिन सार्वजनिक गरियो ।
शनिवार मात्रै सिम्रनले एउटा गीतको भिडियो सुटिङ गरिन् । बेलुकापख स्टुडियो पुगेर अर्को गीत गाइन् । गायक अर्जुन सापकोटाले आफ्नो गीत ‘ए ठूली’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । यो गीत सोमवार सार्वजनिक गर्ने तयारी छ । आइतवार दिउँसो सिम्रनको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ ।
सिम्रनलाई अन्य थुप्रैले रेकर्डिङको प्रस्ताव गरिरहेका छन् । उनले केही गीत रेकर्ड गराइसकेकी छिन् ।
सिम्रनलाई रेकर्डिङका लागि मात्र होइन, लाइभ दोहोरीका लागि समेत प्रस्तावको ओइरो छ । उनी लाइभ दोहोरीमा पुगेर गाएको भिडियो समेत युट्युबमा आइसकेको छ ।
चर्चित टेलिसिरियलमा अभिनयका लागि समेत प्रस्ताव उनीकहाँ पुगिसकेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्