६ भदौ, कञ्चनपुर । धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ ।
बाली पूजाको रुपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन । प्रकृति पूजक मानिने यो समुदायका मानिसले रोपाइँ सकिएको केही दिनपछि हरेक वर्ष हरेरी पूजा गर्ने गर्दछन् ।
हरेरी पूजा गरेपछि धानबालीमा किराको प्रकोप र अन्य रोग कम हुने जनविश्वास रहेको गौरीगंगा नगरपालिका–१० नुक्लिपुर गाउँका भलमन्सा हिंगुराम चौधरीले बताए । उनका अनुसार साउन र भदौ महिनामा यो पूजा गर्ने चलन रहेको छ ।
“हरेरी पूजा सबै गाउँमा संगै हुँदैन”, भलमन्सा चौधरीले अगाडि थपे,“आ–आफ्नो गाउँको समायनुकूल पूजा गर्ने गरिन्छ ।”
थारु समुदायका व्यक्तिहरुका अनुसार समुदायले वर्षभरि विभिन्न समयमा गर्ने विभिन्न पूजाहरुमध्ये हरेरी पूजा प्रमुख पूजा हो । यो पूजा गाउँका देश बन्धिया र केसौका गुरुवामार्फत गाउँभरिका किसानलाई राखेर भलमन्साको आँगनमा गर्ने चलन छ ।
यो पूजामा जङ्गलमा पाइने गनियारी (कुकाठ प्रजाति) को बोक्रा, पसाएको धान दूधमा मिसाएर गाउँका गुरुवाले जडिबुटी बनाउने गर्दछन् । गुरुवाको मन्त्र उच्चारणसहित तयार पारिएको सो तरल जडिबुटी गाउँका सबै किसानले आ–आफ्नो खेतमा छर्कने चलन रहेको छ । यसरी, तरल जडिबुटी छर्केमा धानमा लागेको किरा, फट्याङ्ग्रा धान खेतबाट भाग्नुका साथै पछि पनि नलाग्ने जन विश्वास रहेको छ । यसैगरी, धानमा अन्य रोगको प्रकोप पनि नभइ बाली सप्रिने विश्वास गरिन्छ ।
“हरेरी पूजा गरेमा खेतमा हिड्दाखेरी सर्प, किरा, बिच्छी लगायतले पनि सम्भवतः नटोक्ने गाउँघरमा भनाइ छ”, भलमन्सा चौधरीले भने,“त्यसैले रोपाइँ सकेपछि कुनै गाउँकाले चाँडै, कुनै गाउँकाले केहि ढिलो गरेर वर्षमा एक पटक अनिवार्य हरेरी पूजा गर्ने चलन रहेको छ ।”
हरेरी पूजापछि मात्रै खेतमा गएर घाँस काट्न पाइने विश्वास गरिन्छ । चौधरीका अनुसार विगतमा रोपाइँपछि हरेरी पूजा नगरेसम्म थारु समुदायका पूर्खाहरु खेतमा गएर घाँस काट्ने कार्य गर्दैनथे । यस्तै, हरेरी पूजापछि मात्रै थारु बस्तीमा मादल बजाउन अनुमति दिइन्छ । सखिया, मुङ्ग्रहुवा, झुमरा लगायतका थुप्रै नृत्य मादलको तालमा गर्ने चलन रहेको छ ।
हरेरी पूजा नगर्दासम्म गाउँमा मादल बजाउन बन्द रहने गरेको धनगढी उपमहानगरपालिका–५ तारानगरका भलमन्सा गोठुराम चौधरीले बताए । “पूजा नहुँदासम्म खेतमा घाँस पनि काट्न पाईदैन”, उनले भने,“तर, अचेल पहाडी समुदायका मान्छेले मनलाग्दी घाँस काट् दिने गर्दछन् । उनीहरुले नबुझेर गर्ने यो कार्यले हाम्रो मौलिक चलनमाथि असर परिरहेको छ ।”
थारु समुदायले हरेरीसहित असारी पूजा, लवाङ्गी लगायतका कृषि बालीलाई लक्षित गरेर विभिन्न पूजा गर्दै आएका छन् । धान बालीमा किराको प्रकोप अत्यधिक भएमा किरा निकासी गर्ने चलन पनि रहेको जनाइएको छ । किरा निकासी गर्दा धानमा रहेका पाँच वा सात किरा समाति त्यसमध्ये तीन वटा किरालाई गुरुवा वा केसौकाले खाने बाँकीलाई छोड्ने चलन रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्