१५ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक पाककलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै छ । हुन लागेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले दाबी गरे । कार्यक्रममार्फत् रैथाने खाना, बाली तथा वस्तुसहित फुड टुरिजमको पनि प्रवर्द्धन हुने आयोजकको दाबी छ ।
पहिलो पटक पाककलासम्बन्धी रियालिटी शो नेपालमा सुरु हुन लागेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले दाबी गरे ।
उनले भन्छन,’ हरेक शुक्रबार राति ९ बजेदेखि एक घण्टा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै छ ।’ ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउने घोषणा गरे पनि विविध कारणले ढिलाइ भएको उनले बताए । ‘झन्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन,’ उनले भने, ‘पहिलो पटक अनलाइन अडिसनको आह्वान गर्यौं । फर्म भर्न र परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’ पाण्डेका अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट सय जनालाई सर्टलिस्ट गरिएको हो । ‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनले भने, ‘तर हामीले होम कुक र विद्यार्थीहरूलाई मात्र छनोट गर्यौं ।’
पाण्डेका अनुसार यो सो १८ सातासम्म चल्नेछ । ‘अडिसन राउन्ड २ एपिसोड, एलमिनेसन राउन्ड ४, कम्पिटिसन राउन्ड १० र फिनाले राउन्ड २ एपिसोड हुन्छन्,’ पाण्डेले भने । उनले करिब सात वर्षअघि नै मास्टर सेफ नेपालमा आयोजना गर्न अध्ययन/अनुसन्धान गरेका थिए । तर बजार अनुकूल नभएको निष्कर्षपछि रोकिएका थिए । ‘त्यतिबेला वर्कआउट गरेर मात्र छाडियो, त्यसपछि म पनि ३/४ वर्ष देशबाहिर बसें । सन् २०२१ मा सेफ सन्तोष शाहले मास्टर सेफमै गएर नेपाली खानाको चर्चापरिचर्चा गराउनुभयो,’ उनले भने, ‘त्यो अवधिसम्म कसैले पनि फुड रियालिटी सो ल्याएका थिएनन् । त्यसपछि फेरि आफैं गर्छु भनेर लागिपरेको हुँ ।’
सेफ नेपालले खल्तीसँगको साझेदारीमा ‘खल्ती क्विज’ समेत ल्याउने जनाएको छ । हरेक एपिसोडको अन्तिममा सोधिने प्रश्नको सही उत्तर दिने दर्शकलाई गोलाप्रथामार्फत छनोट गरी विजेतालाई हरेक साता ५० हजारसम्मको गिफ्ट ह्याम्पर प्रदान गर्ने सेफ नेपालले जनाएको छ । हरेक एपिसोडमा घोषणा हुने ‘उत्कृष्ट डिस’ लाई बजारमा रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको पाण्डेको भनाइ छ । आयोजक सेफ नेपालका अनुसार विजेतालाई २५ लाख रुपैयाँ नगदसहित विभिन्न अवसरहरू प्रदान गरिनेछ ।
रियालिटी सोमा सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भण्डारी नै निर्णायक छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता छन् । प्रतिस्पर्धामा नेपालको कुनाकुनाका विभिन्न समुदायबाट प्रतिनिधित्व गरी प्रतिस्पर्धीहरू आएका सेफ सन्तोष शाहले बताए । ‘नेवारी, शेर्पा, लिम्बूलगायत विभिन्न समुदायका प्रतिस्पर्धीहरू आउनुभएको छ,’ उनले भने, ‘एक समुदायले अर्को समुदायको खाना बनाएको हेर्न, सिक्न र खान पनि पाउँछन् । यसले फुड टुरिज्मलाई धेरै नै सहयोग गर्छ ।’
प्रतिक्रिया दिनुहोस्