Ad imageAd image

आन्द्राको क्यान्सर कारण र रोकथाम

खबर खुराक
खबर खुराक १९ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

१९ भदौ, काठमाडौं । कोलोरेक्टल वा ठूलो आन्द्राको क्यान्सर सम्बन्धी जनचेतनाको महिना हो मार्च । यस सन्दर्भमा विश्वभरि नै विभिन्न कार्यक्रम सञ्चालन गरिन्छन् । यो क्यान्सरको जोखिममा जोकोही पनि हुन सक्छन् । त्यसैले यसको लक्षण, उपचार विधि तथा रोकथामबारे जानकारी राख्नु आवश्यक छ ।

ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भएर विभाजित भएपछि यस्तो क्यान्सर हुन्छ । संसारभरि क्यान्सरका कारण हुने मृत्युमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउँछ भने दोस्रोमा यही पर्छ । सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा भने यो तेस्रोमा छ ।

ठूलो आन्द्राको क्यान्सरको सुरुआती चरणमा आन्द्राको भित्री भागको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउँछ । सबै पोलिप हानिकारक हुँदैनन्, तर समयमै पहिचान गरेर निकाल्न सकिएन भने यसबाट ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना प्रबल हुन्छ ।

मोटोपना हुने, व्यायाम नगर्ने, अत्यधिक मात्रामा धूमपान र मद्यपान गर्ने, धूवाँमा सेकेको खानेकुरा धेरै खाने, सागसब्जी कम खाने र रातो मासु तथा प्रशोधित खानेकुरा बढी खानेहरू ठूलो आन्द्रा क्यान्सरको जोखिममा हुन्छन् । यी त भए हामीले परिवर्तन गर्न सकिने बानीहरू । अरू केही यस्ता पनि जोखिम छन्, जुन हामीले परिवर्तन गर्न सक्दैनौं । जस्तो— परिवारमा कसैलाई यस्तो रोग छ भने वंशानुगत कारणले यो देखा पर्न सक्छ ।

- Advertisement -
Ad image

बढ्दो उमेरका व्यक्तिलाई इन्फ्लामेटरी बाबेल डिजिज हुन सक्छ, त्यसैले बेलाबेलामा जाँच गरिरहनुपर्छ । समयमै रोगको पहिचान गरे निर्मूल पार्न सहज हुन्छ ।

ठूलो आन्द्राको क्यान्सर जाँच्ने विभिन्न विधि छन् जस्तो— दिसामा रगत जाँच्नु, दुर्बिनबाट ठूलो आन्द्रा परीक्षण गर्नु, उपकरणबाट दिसामा सम्भावित क्यान्सर कोषिका नियाल्नु

आदि । हामी सबैले मान्ने नियामक संस्था अमेरिकन क्यान्सर सोसाइटीको निर्देशिकाअनुसार, ४५ वर्षको उमेरका सबैले ठूलो आन्द्राको परीक्षण गराउनुपर्छ । योबाहेक दिसामा क्यान्सर कोषिकाको जाँच तीन वर्षमा एक पटक गर्न सकिन्छ । उच्च जोखिम अर्थात् परिवारको कुनै सदस्यलाई पहिल्यै ठूलो आन्द्राको क्यान्सर छ भने, त्यस्ता परिवारका सदस्यले चिकित्सकको परामर्श बारम्बार लिइरहनुपर्छ ।

यो रोगको लक्षण झट्टै नदेखिने हुनाले बेलाबेलामा जाँच गर्नु आवश्यक छ । यसका केही लक्षण हुन्— पेट दुख्नु वा फुल्नु, दिसामा रगत देखिनु, कहिले पातलो दिसा त कहिले कब्जियत हुनु, दिसा राम्रोसँग निकास नहुनु, बिनाकारण तौल घट्नु र अनावश्यक थकान महसुस हुनु । यीमध्ये कुनै पनि लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ गइहाल्नुपर्छ । शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै यसको उपचारका मुख्य विधि हुन् । ठूलो आन्द्राको क्यान्सरको चरणअनुसार उपचारका विधिहरू फरक–फरक छन् । तर, उपचारभन्दा पनि यो रोग लाग्नै नदिनु राम्रो हो, जसबाट उपचार खर्च पनि जोगिन्छ ।

यो रोगबाट बच्न धेरै केही गर्नैपर्दैन । जीवनशैलीलाई अलिकति अनुशासित बनाउन सकियो भने यो रोग लाग्ने सम्भावना कम हुँदै जान्छ । स्वस्थ जीवन नै यस रोगबाट बच्ने मूलमन्त्र हो । खानपिन र व्यायाममा ध्यान दिनेबित्तिकै धेरै हदसम्म यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ । त्यसका लागि फलफूल, सागसब्जी र रेसायुक्त खानेकुरा आफ्नो दैनिकीमा ल्याउनुपर्छ । दैनिक योग, व्यायाम गरी तौललाई नियन्त्रण गर्नुपर्छ । मद्यपान र धूमपानबाट टाढै बस्नुपर्छ । यस्तो बानीसँगै ठूलो आन्द्राको क्यान्सरका लक्षणहरूबारे जानकारी राखेर बेलैमा यसलाई ध्यान दियौं भने यसको निदान शतप्रतिशत सम्भव छ । जति छिटो स्वस्थ जीवनशैली अपनाउन थालिन्छ, ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना त्यति नै परपर सर्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्