२५ भदौ,काठमाडौं । अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्यायो।
डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ।
विक्रम संवत् २०८० सुरु भएयता डेङ्गीकै कारण १० जनाले ज्यान गुमाइसकेका छन्।
“पानी पर्ने मौसम भएकाले जोखिम बढ्दो छ। अझै तीनदेखि चार महिना ढुक्क हुने अवस्था छैन। सबैले सावधानी अपनाउनुपर्छ,” ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले भने।
सर्वसाधारण मानिसले यो रोगले पार्ने असरबारे बुझ्नु र सावधानी अपनाउनु नै डेङ्गी नियन्त्रणका लागि प्रभावकारी हुने डा दाहालको ठहर छ।
प्रकोपको रूप लिन सक्ने डेङ्गी रोगबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनलेडेङ्गी रोगसँग सम्बन्धित केही प्रश्नको उत्तर दिएका छन्।
अचानक ज्वरो आउँछ। टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्छ। आँखाको गेडी खस्ला जस्तै हुन्छ। खानै मन नलाग्ने र वाकवाकी लाग्ने हुन्छ। यी लक्षणहरूलाई समग्रमा ‘डेङ्गी फिभर’ पनि भन्न सकिन्छ। यी सबै प्रारम्भिक लक्षण हुन्।
डेङ्गीः सङ्क्रमण भएपछि लामखुट्टे ‘बिरामीतिर अझ बढी आकर्षित हुन्छ’, के यो रोगविरुद्ध खोप बनेको छ’ डेङ्गी: सङ्क्रमण भइहाल्यो भने के गर्ने? प्लेटलेट्स बढाउन के खाने
अवस्था गम्भीर हुँदै जाँदा नाकबाट ह्वालह्वालै रगत बग्न सक्छ। ज्यान असाध्यै दुख्छ, उठ्नै नसक्नेगरी। तारन्तार बान्ता हुन्छ। यी लक्षणहरू चेतावनी हुन् र यस्ता सङ्केत कम नभए अस्पताल जानुपर्छ।
चिकित्सकहरूले शरीरको आन्तरिक जाँच गरेपछि कतिपयको पेटमा पानी जमेको देखिन्छ। कतिपयको कलेजोको आकार नै बढेको हुन्छ।
अनि अधिक रक्तस्राव अर्को लक्षण हो। यसपछि पनि जटिलता थपिए बिरामी अचेत हुन्छन्। रगतमा प्लेट्लटको मात्रा घट्छ।
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो।
विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको एउटा प्रमुख चुनौतीको रूपमा हेरेको डेङ्गी नेपालमा प्रायः मनसुन सुरु हुनुभन्दा अघिदेखि मनसुन सकिएसम्मै फैलिन्छ।
नेपालमा यो पहिलो पटक सन् २००४ मा देखिएको बताइन्छ। सन् २००६ देखि केही वर्षको अन्तरालमा प्रकोपको रूपमा यो फैलिने गरेको देखिएको छ।
सन् २०१९ र सन् २०२२ मा भने यसले ठूलो मानवीय क्षति गरेको अधिकारीहरूले बताएका छन्।
विशेषगरी एइडीज इजिप्टी वा एइडीज आल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट यो रोगको भाइरस मानिसमा सर्छ।
भाइरस सार्ने यी दुवै प्रजाति नेपालमा छन्।
यी प्रजातिका लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुन्छन्।
तर यिनले राति टोक्दै टोक्दैनन् भन्ने हुँदैन। जुनसुकै समयमा यस्ता लामखुट्टेबाट जोगिनु भनेकै डेङ्गीबाट जोगिनु हो।
कुनै रक्त समूहका मानिसप्रति लामखुट्टे तुलनात्मक रूपमा बढी आकर्षित हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो।
यो निष्कर्ष अन्य विभिन्न रोगहरूको हकमा पनि लागु हुन्छ। तर त्यसो भन्दैमा “मेरो रगत समूह यो हो मलाई लामखुट्टेले टोक्दैन” भनेर बस्नु हुँदैन।
प्रत्येक व्यक्तिले जोगिनुपर्छ। लामखुट्टेलाई वरपर आउनबाट रोक्नुपर्छ। किनकि त्यो तपाईँप्रति कम आकर्षित होला तर तपाईँकै परिवारका अन्य सदस्यलाई डेङ्गी सार्न सक्छ।
प्रतिक्रिया दिनुहोस्