(‘चिनारी ढोलीमाराको’ पुस्तक विमोचन समारोहका कुरा)

चटनीभन्दा कम स्वादिष्ट छैन !

खबर खुराक
३० जेठ २०८१ १५:१३

जेठको २५ गते,शुक्रवार । साँझको साढेचार बज्दै थियो । पूर्वखोलाको वडा नं. २,जल्पा नजिकै पर्ने ढोलीमारा गाउँमा नौलो कार्यक्रम हुँदै थियो । गाउँको इतिहासमै यस्तो खाले कार्यक्रम नयाँ नै थियो । स्थानीय माया रानाद्वारा रचना तथा संकलन गरिएको चिनारी ढोलीमाराको पुस्तक विमोचन समारोह थियो ।


गाउँका सबैजसो मानिसहरु आइसकेका थिए । हामी पुग्दा प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेश सभाका सदस्य माननीय खेम सारु पुगिसकेका थिए कार्यक्रम स्थल । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा,वडा नं. २ र ३ का वडाध्यक्ष समेत आएका थिए । स्वास्थ्य प्रमुख मोहन ढकाल,उद्बुद्ध माविका सहायक प्रअ सुशील न्यौपाने समेत कार्यक्रममा उपस्थित थिए । स्थानीय विद्यालयका प्रअ,सहायक प्रअ लगायतका शिक्षक साथीहरु समेत आइसकेका थिए । बुटवलबाट पर्फेक्ट प्रिन्टका प्रवन्धक यादवप्रसाद घिमिरे,ग्यालेक्सी फिल्सका प्रवन्ध निर्देशक मोहन महतो समेत आइपुगेका थिए ।

मसँगै पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहरसिं थापा,नेपाल एयरलाइन्सका अधिकृत हरिबहादुर सारु,सामाजिक कार्यकर्ता विष्णु जीसी समेत विमोचन समारोहमा पुगियो । कार्यक्रमको सुरुवात् भयो । स्वागत मन्तव्य राखिन् स्थानीय शयारी क्लवकी उपाध्यक्ष मीनाले । छोटो तर मीठो भाषामा स्वागत गरिन् । सबैलाई सम्मान गरिन् । स्थानीय बैनीहरुले अवीर र फूलले सबैलाई स्वागत गरेका थिए ।
विमोचन समारोहका प्रमुख अतिथि माननीय खेम सारुले ब्यानर खोलेर अनि पुस्तक उघारेर विमोचन गरेको घोषणा गरे । परररररररररररर ताली बज्यो । सहभागीहरुले खुसी ब्यक्त गरे । ढोलीमारा गाउँकै बारेमा लेखिएको पुस्तक र यही स्थानमा पहिलो पटक पुस्तक विमोचन भएको हुन सक्छ । सत्य पनि यही हो ।


प्रमुख अतिथिले पुस्तक सबैका लागि मार्गदर्शन भएको,तथ्य र तथ्याÑ समावेश भएको, गाउँका हरेक पक्षलाई समेटिएको र काम लाग्ने भएको बताए । उनले यो पुस्तक नीति,निर्माता,योजनाकार र विकास निर्माता अनि सर्वसाधारण गाउँलेहरुलाई समेत उत्तिकै पठनीय र संग्रहणीय भएको कुरा बताए । आफ्नो गाउँको गौरव नै चिनारी ढोलीमाराको पुस्तक रहेको सुनाए ।

उक्त विमोचन कार्यक्रमका विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले मायाले अब सिंगो पूर्वखोलाको नै पुस्तक लेख्नुपर्ने बताए । पुस्तकले आफ्नो गाउँठाउँको चिनारी दिएको र इतिहास रच्ने समेत सुनाए । आफूलाई आफ्नो गाउँका बारेमा लेखिएको पुस्तक पढ्न पाउने कुराले हर्षित तुल्याएको समेत बताए ।

पुस्तकको समीक्षा गर्दै सुशील न्यौपानेले भने–पुस्तकमा ढोलीमाराको हिजोको इतिहास छ । आजको परिवेश र वस्तुस्थिति छ । त्यतिमात्र होइन भोलिको सपना र योजना समेत छ । पुस्तक सबैका लागि प्रिय हुनेछ । मैले त पढें तपाइँहरुले नि किनेरै पढ्नु होला ।
पुस्तकमा ढोलीमाराको सबै चिनारी छन् । ढोलीमारालाई समृद्धि बनाउने सपना छन् । गाउँका कला,संस्कृति,सभ्यता,संस्कार सबै छन् । शिक्षा,स्वास्थ्य,रोजगारी र इलम अनि उद्यमशीलताका कुरा समेटिएका छन् । पुस्तक टूरगाइडजस्तै लाग्छ । गाईड बुक नै हो भनेर मैले भनेकै हुँ । यो बुक लिएर हिडेमा ढोलीमाराका बारेमा सबै जनकारी हासिल हुनेछ । यतिमात्रले मेरो चित्त नबुझेर कवितामा ढोलीमारा शीर्षकको मायाको कविता पढेर आफ्नो शुभकामना मन्तव्य अन्त्य गरेको थिएँ ।
माया रानाले पुस्तकको रचनागर्भ सुनाइन् र भावुक बनाइन् । सबैका आँसु, आँखाका डिलमा पिङ खेलेकै थिए । दुःख,सुखको साथी कलम र कलमले कोरेको पुस्तक तपाइँहरुकै लागि पाहुर रहेको सुनाउँदा भावुक भइन् आफै ।

पुस्तक प्रकाशन गरिदिने स्थानीय शयारी युवा क्लवलाई मायाले कृतज्ञता पत्र प्रदान गरिन् । मायालाई क्लवले प्रशंसा पत्र दियो । चित्र र भीम सरलाई सम्पादन गरेवापत धन्यवाद पत्र दियो क्लवले । मैले दुईवटा लेख,रचना दिएवापत धन्यवाद् पत्र पाएँ । यादव घिमिरेले उत्कृष्ट प्रकाशनमा सहयोग गरेवापत र पुस्तकको कभर फोटो उपलब्ध गराएवापत मोहन महतोलाई समेत धन्यवाद् पत्रले धन्यवाद दियो क्लवले ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष श्रीधन कवँरले र सञ्चालन सचिव पिम कवँरले गरेका थिए । कार्यक्रम समापनपछि हामीले चुकौनीमा सेल डोबेर खाइयो । भुटुवासँग अर्थोक पनि खाइयो । चटनीको के बयान गर्ने र जिभ्रोमा आजसम्म झुण्डिएकै छ । पुस्तक पनि चटनीभन्दा कम स्वादिष्ट छैन । पढेर त विचार गरौं ।    



प्रतिक्रिया

धेरै पढिएको