कवितामा ढोलीमारा

खबर खुराक
३१ जेठ २०८१ १९:०४

 

 

सम्झेर ल्याउँदा अतीत
गहिरो माया अल्झिन्छ ढोलीमारासँग
यहींको पानी खाएर हुर्किएकी हुँ
यहींको धूलीमाटामा कखरा लेखेकी हुँ
यादले झन् सताउँछ आफैलाई
मेरो माईती, मेरो कर्मथलो ढोलीमारा !
घाँसकाट्दै चुलीडाँडामा थुप्रैपटक
पसिनाका भारीसँगै गीत गाएकी छु
आफ्नै गाउँ,
आफ्नै ठाउँसँग पिरति लाएकी छु ।
कहिले माहारा जाँदा
कहिले झारा जाँदा
आफैलाई बिर्सेर हिड्नुको मज्जा
खोई ! आज
स्मृतिको कुन सन्दुकमा खोजुँ ?
दिदीबहिनीहरुसँगै
बारीका पाटामा, मल बोक्दै
मनकै गीत गाएको हिजोजस्तै लाग्छ !
ऐंसेलु टिप्दै,लाँकुरीभञ्ज्याङ्गमा हावासँगै नाँचेको बिर्सिन सकुँला र ?
कहिले कुवामा
कहिले धारामा
कहिले वनपाखामा
कहिले भञ्ज्याङ्ग चौतारीमा
कहिले वनभोजमा
आफ्नै जीवनको यात्रामा
म कहाँ पुगिनँ र ?
तैपनि म हाम्रै ढोलीमारामा छु ।
चुलीडाँडालाई शिरानमा सजाएर
आफ्नै मनको आँगनमा
किवी फलाएको छ ढोलीमाराले
आफ्नै खुसीमा अमृत बनाएको छ अम्रिसोले
खुर्सानी र गोलभेडा फलाएर
हरिया नोट समाएको छ ढोलीमाराले !
बोडीजस्तै सपना झुण्ड्याएर
फर्सिजस्तै आशा गुल्ट्याएर पनि
हरेक ईच्छाहरुलाई
पिंडालुजस्तै गाडेर
गाभासरि हाँस्दैछ ढोलीमारा !
पञ्चेबाजामा नाँचेको छ
पाहुनालाई नचाएको छ
बारा र सेल चखाएको छ
झ्याउँरे,सोरठी र सालैजोमा
कम्मर भाँचेको छ ढोलीमारा
रनवीरको सहनाईमा झुमेका छन्
दाइभाइ र दिदीबहिनीका गीतमा फन्फनी पाहुना नाँच्दै घुमेका छन् ।
पहलसिंको पहलमा
चित्र,बेदप्रसाद,मानबहादुर,जीवनहरुले ढोलीमारालाई नयाँजीवन दिईरहेका छन् ।
अचेल ढोलीमारा
हरेकका आँखामा सजिएका छन्
हरेकका सासमा अडिएका छन्
स्काईब्रिज,भ्यूटावरले चुलीडाँडा र ढोलीमारा झन् चुलिदैछन् ।
दन्तलहर हिमालसँगै
लमतन्न तराइका फाँटहरु
पहाडका थुम्काथुम्की
चुलीडाँडाबाट बाईनाकुलरले हेर्ने दिन आउला नि ?
हाम्रो ढोलीमारा
राम्रो ढोलीमाराको
सपनाका फूल उनेर
मनको सगरमाथा चढेरहेकै छौं !



प्रतिक्रिया

धेरै पढिएको