लागूऔषध विरुद्ध पाल्पामा पनि सप्ताहव्यापी कार्यक्रम

खबर संसार
८ असार २०८१ ११:३४

मिलन विश्वकर्मा

पाल्पा, ७ असार । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पामा पनि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले ६ गते बिहिबारदेखि यही जेठ १२ गतेसम्म विविध सचेतनामुलक कार्यक्रम गर्ने प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए। पहिलोदिन सबै सुरक्षा निकायका प्रमुख, विद्यालयका शिक्षक, विभिन्न टोलविकास समितिका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि, पत्रकारसँग लागूऔषध नियन्त्रणबारे अन्तरक्रिया गरिएको छ ।

लागूऔषधले गर्ने असर, यसको सेवन तथा ओसारपसार गर्दा हुने कानुनी सजायबारे जनाधार अर्थात् तल्लो तहसम्म सचेतना जगाउनुपर्ने उहाँले बताउनुभयो । पाल्पामा सिद्धार्थ राजमार्ग मात्र नभई अन्य भित्री सडक प्रयोग गरेर यसको ओसारपसार हुन सक्ने भन्दै चेकजाँचलाई थप प्रभावकारी बनाइने छ । आवश्यक सूचना दिएर सहयोग गर्न पत्रकार र सर्वसाधारणसँग आग्रह गर्नुभयो ।

लागूऔषध नियन्त्रण गर्न आफूहरूले दैनिक खोजी अनुसन्धानको कार्यक्रमलाई कडाई गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षण नरेन्द्र चन्दले बताउनभयो । लागूऔषधले गर्ने असर, यसको सेवन र कारोबार गर्नेलाई हुने सजाय, ट्राफिक नियम, सामाजमा हुने अपराध नियन्त्रण सम्बन्धी विषयवस्तु समेटिएका सुरक्षा कोर्ष विद्यालयमा विद्यार्थीलाई पढाउने काम पनि गरिएको छ। समाजमा हुने जुनसुकै अपराधिक घटनालाई नियन्त्रण गर्न आम नागरिकको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभाीले विशेष गरी विद्यालयमा यस्ता कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए। चुरोट, गाँजा, मादक पदार्थ सेवन गर्ने विकृति बढेको छ। यसको नियन्त्रण गर्न गाउँगाउँ घरघरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। स्थानीय सरकारले समेत यसको नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र प्रहरीले समन्वय गर्नुपर्ने उनीहरूले सुझाएका थिए।

प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले लागूऔषधको सेवा र ओसारपसारको अवस्थाबारे सहजीकरण गर्नुभएको थियो । विगत वर्षभन्दा यस वर्ष तुलनात्मक हिसाबले लागूऔषध अपराधका घटनामा कमी आएको बताउनभयो । चालूआर्थिक वर्षमा ६ वटा मुद्धा दर्ता भएका छन्। ८ जना पक्राउ परेका छन् । गत वर्ष भने ८ वटा मुद्दा दर्ता भएका थिए । १० जना पक्राउ परेका थिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेतानामूलक कार्यक्रम गर्ने, सवारी साधनमा लागूपदार्थ सेवन तथा ओसारपसार भए नभएको चेकजाँच गर्ने, समुदायमा पुगेर नागरिकसँग छलफल गर्ने र १२ गते सचेतनामुलक प्रभातफेरि निकालिने सूचना अधिकारी समेत रहेको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा मनोज आचार्यले गर्नुभएको थियो ।



प्रतिक्रिया

धेरै पढिएको