रास्वपामा महामन्त्री ढकालको अर्को माग- बैठक लाइभ गरौँ

रास्वपाको अनुशासन आयोगले महामन्त्रीलाई स्पष्टीकरण सोधिसकेको छ

खबर खुराक
१७ असार २०८१ १३:४८

काठमान्डौं, १६ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद बढ्दै जाँदा महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्।

सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बुधबार बोलाएका छन्। उक्त बैठकमा महामन्त्रीले बुझाएको समीक्षायात्राको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ। उक्त छलफल प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको डा. ढकालले जानकारी दिए। तर, बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ नआइसकेको उनको भनाइ छ।

डा ढकालले भने, ‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको छु। हाम्रो अडिट जनताले गरून्। बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइसकेको छैन।’

यसअघि उनले आफूले बुझाएको समीक्षायात्राको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका थिए। उनले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको पनि गुनासो गरेका छन्। उनको यस अभिव्यक्तिलाई लिएर सभापति लामिछाने र उनी समर्थक पंक्ति रुष्ट देखिएको छ।

रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधिसकेको छ।

यसअघि महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै उक्त प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न आग्रह गरेका थिए। उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने उनको तर्क थियो।

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका थिए, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। असार ५ गते उनी काठमाडौँ आइपुगेका थिए।

यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले प्रतिवेदन गत बुधबार सभापति लामिछानेलाई बुझाएका थिए।

उक्त प्रतिवेदन बुझाएपछि उनले आफूलाई महामन्त्रीबाट हटाइन पनि सक्ने शंका व्यक्त गरेका थिए।



प्रतिक्रिया

धेरै पढिएको