अपांगता सम्बन्धी कानुनी व्यवस्था विषयक गोष्ठी तानसेनमा सम्पन्न

खबर संसार
२२ असार २०८१ २१:२५

मिलन विश्वकर्मा
पाल्पा, २१ असार । स्थानीय तहले अनिवार्य गर्नुपर्ने अपांगता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाले अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्दै आएको बताउनुभयो । अपांगता भएका व्यक्तिका विभिन्न संस्थासँग सहकार्य गरेर कार्यक्रम भइरहेका छन् । उनीहरूको प्रकृति र क्षमतालाई ध्यानमा राखेर काम गरेको उहाँले बताउनुभयो ।

उपप्रमुख प्रतीक्षा सिंजालीले  नगरभित्र ४३५ अपांगता भएका व्यक्तिलाई कार्ड वितरण गरिएको बताउनुभयो । ७४ जनालाई क वर्गको कार्ड वितरण गरिएको छ । १५८ जनलाई ख, १४० जनालाई ग, र ६३ जनालाई घ वर्गको कार्ड वितरण गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्र ५३ जनालाई विभिन्न प्रकारका कार्ड वितरण गरिएको छ ।

अपांगताका क्षेत्रमा काम गर्न नगरभित्र धेरै संस्था छन् । सामूहिक रुपमा मिलेर काम गर्न ती संस्थालाई उहाँले सुझाव दिनुभयो । एक आपसमा मिलेर आए नगरपालिकालाई सहकार्य गरेर काम गर्न सहज हुने थियो । यसरी सबै पक्षका सहकार्य र समन्वयमा भएको कार्यक्रम लक्षित वर्गका लागि प्रभावकारी हुने उहाँले बताउनुभयो ।
नपर प्रवक्ता तथा तानसेन नगरपालिका ११ का वडाध्यक्ष यादवसिंह कार्कीले अपांगता भएका व्यक्तिको तथ्यांक संकलन गरेर उनीहरूको हितमा काम गरिरहेको बताउनुभयो । अझै कस्ता खालका कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी बन्न सक्छ भन्नेबारे सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बनेका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । अपांगता भएका व्यक्तिलाई राज्यले प्राथमिकता दिनुपर्छ । कार्याल अपांगमैत्री बन्नुपर्छ । उनीहरूलाई सम्बन्धित ठाउँमै पुगेर सेवा दिनुपर्छ । उनीहरूले पाउने सेवा सुविधा र अधिकारबारे सरोकारवाला निकायका व्यक्तिले इमानदार भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

तानसेन नगरपालिकाले अपांगताको क्षेत्रमा काम गर्दै आएका संस्थासँग आगामी आर्थिक वर्षमा पनि यसैगरी सहकार्य गर्नेमा आफू आशावादी रहेको सिर्जनशील अपांग स्वालम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराइले बताउनुभयो । अपांगता भएका व्यक्तिको क्षेत्रमा नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर उनीहरूलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय अपांग महासंघको आयोजना तथा द एसिया फाउण्डेसन नेपालको सहकार्यमा भएको कार्यक्रममा अधिवक्ता डाक्टर लक्ष्मण प्रसाद ज्ञवालीले अपांगता भएको व्यक्तिको संविधानमा भएका अधिकार र स्थानीय तहले उनीहरूको क्षेत्रमा गर्नसक्ने कामबारे सहजीकरण गर्नुभएको थियो ।

तानसेन नगरपालिका र सिर्जनशील अपांग स्वालम्बन केन्द्रको समन्वयमा भएको कार्यक्रममा परियोजना सञ्चालन गर्न बनाइएको पैरवी समूहका सदस्य, तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागिता रहेको थियो ।



प्रतिक्रिया

धेरै पढिएको