लागातारको झरि

पछिल्लो २४ घन्टामा पाल्पामा अति भारी वर्षाः कहाँ कहाँ के -के भयो?

अति भारी वर्षा भएपछि पाल्पा हुँदै बग्ने कालिगण्डकी र तिनाउ नदीको वहाब पनि बढेको छ

खबर खुराक डेक्स
२४ असार २०८१ ८:१९

बुटवल, २३ असार ।  पछिल्लो २४ घन्टामा पाल्पामा अति भारी वर्षा भएको छ।  बाढी पुर्वानुमान महाशाखाका अनुसार चौबिस घन्टामा २ सय मिलिमिटर भन्दा माथी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ।  पाल्पाको कुमाल गाउँमा पछिल्लो २४ घन्टामा ४०६ मिलिमिटर वर्षा मापन भएको छ।

महाशाखाले प्रकाशित गरेको विवरण अनुसार गाडाकोटमा ३०७ मिलिमिटर, जल्पामा ३०४.६ मिलिमिटर, अर्चलेमा २८०.४ मिलिमिटर र बल्ढेङगढीमा २०७ मिलिमिटर बर्षा मापन गरिएको छ। अति भारी वर्षा भएपछि पाल्पा हुँदै बग्ने कालिगण्डकी र तिनाउ नदीको वहाब पनि बढेको छ।

अविरल वर्षापछि खसेका पहिराले पाल्पाका विभिन्न सडकहरु अवरुद्ध भएका छन्। शनिवार दिउँसोसम्म कुनैपनि मानवीय क्षति नभएपनि पहिराले घरगोठ पुरिँदा पशुचौपाया मरेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार वर्षापछि ढुंगासहित झरेको पहिरोले पुरिँदा रामपुर नगरपालिका ९ मधुकोटमा पशुचौपाय मरेका छन्। कार्यालयका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले रामपुर-९ मधुकोटका कमल बहादुर साठीघरेको गोठ पहिरोले पुरिँदा भैंसीको पाडी, बाख्राका २ वटा पाठी र एउटा खसी मरेको जानकारी दिए।

त्यस्तै रिब्दीकोट गाउँपालिका-३ माल्मुमकी मिना विकको जस्तापाताले छाएको एक तले कच्ची घर पनि पहिरो झरेर क्षति भएको छ। तीन दिनदेखी परेको लगातारको बर्षाको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डका विभिन्न स्थानमा पहिरो झरेको छ।

बुटवल तानसेन सडकखण्ड अन्तर्गत चर्चरे, कालीमाटी र हिउँदे खोलामा लेदो सहितको पहिरो झरेपछि आवतजावत प्रभावित भएको छ। ठूलो पानी पर्दा पहिरो झर्ने र पानी पर्न रोकिँदा पहिरो पन्छाएर सडक खुलाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ।  माथीबाट लेदो सहितको पहिरो झरेको कारण कालीमाटी क्षेत्रमा छिन छिनमा सडक बन्द हुने गरेको छ।

डिभिजन सडक कार्यालयले सडकमा झरेको पहिरोलाई पन्छाएर सडक खुलाउने काम गरिरहेको प्रहरीले जनाएको छ। त्यस्तै कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुर-पिपलडाँडा सडक पनि अवरुद्ध भएको छ। रम्भा गाउँपालिका १ हुँगीमा सडक माथिबाट सालका रुखसहित खसेको पहिरोले सडक अवरुद्ध भएको डिएपी श्रेष्ठले बताए।

त्यस्तै तानसेनदेखि हार्थोक-छहरा हुँदै अर्घाखाँची जाने सडकखण्ड पनि अवरुद्ध बनेको छ। रैनादेवी छहरा गाउँपालिका ५ धुवाँपानीमा पहिरो खसेपछि सडक अवरुद्ध छ।

तानसेन-हार्थोक-अर्गली-रिडी सडकखण्ड पनि छिनछिनमा झरिरहने पहिरोले पूणर्रुपमा अवरुद्ध छ। डिएसपी श्रेष्ठका अनुसार आर्यभन्ज्याङ-रामपुर पक्कि सडक खण्डमा रम्भा गा.पा.५ काउलेपानी माथिबाट पहिरो झरी अवरुद्ध भएको छ।

रिब्दिकोट गाउँपालिका ४ हटिया स्थित हटिया-भारकोट भित्रि कच्चि सडक खण्डमा पहिरो झर्दा दुईवटा मोटरसाईकल पुरिएका छन्। ना ६१ प ८५८४ र लु २१ प ५६३२ नं.का मोटरसाईकल पुरिएको र निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

यस्तै लगातारका वर्षाको कारण माडी क्षेत्र डुबानमा परेको छ। तानसेन नगरपालिका, बगनासकाली, रम्भा, पुर्वखोला र माथागढी गाउँपालिकाको अधिकांश क्षेत्रमा परेको पानी जम्मा भएपछि माडी फाँट जलमग्न भएको हो।

तानसेनको प्रभास र बाँसटारी क्षेत्रपनि जलमग्न भएको छ।



प्रतिक्रिया

धेरै पढिएको