म्याग्दीको अन्नपूर्णस्थित प्रसिद्ध पर्यटकीय स्थल पुनहिल

खबर खुराक
८ भदौ २०८० १६:५०

८ भदौ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको सुरुमा नै तातोपानी कुण्ड र पर्यटकीय स्थलहरुबाट एक करोड बढी आन्तरिक आम्दानी सङ्कलन गरेकाे छ । गाउँपालिकाभित्र रहेका तातोपानी कुण्ड र पर्यटकीय स्थललाई पालिकाले आय ठेक्का लगाएर एक करोड ३० लाख रुपियाँ आन्तरिक आम्दानी गरेको हो ।

भूरुङ तातोपानी कुण्ड, पाउद्धार तातोपानी कुण्ड र पर्यटकीय स्थल पुनहिललाई ठेक्कामा लगाएर पालिकाले आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तातोपानी कुण्ड र पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले आर्थिक वर्षको सुरुमै एक करोडभन्दा बढी आम्दानी गर्न सफल भएका छौं । उक्त रकम पालिकाको खातामा अग्रिम रुपमा जम्मा भइसकेको छ ।”

उहाँका अनुसार वडा नम्बर ६ स्थित पुनहिललाई ६३ लाख ११ हजार, काली गण्डकी कोरिडोरको छेवै रहेको पर्यटकीय स्थल भुरुङ तातोपानी कुण्डलाई ५५ लाख नौ सय र वडा नम्बर ५ पाउद्वारमा रहेको तातोपानी कुण्डलाई २० लाख १९ हजार पाँच सय रुपियाँमा पालिकाले एक वर्षका लागि ठेक्कामा लगाएको छ ।

पालिकाले ठेक्काको सूचना प्रकाशित गरेर सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइला दाई एण्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रा.लि र पाउद्वार तातोपानीमा स्थानीयवासी प्रेम तुलाचनसँग पालिकाले ठेक्का सम्झौता गरेर उनीहरुबाट अग्रिम रुपमा रकम लिइसेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । ठेक्कामा लिएकाहरुले पालिकाको खातामा अग्रिम रुपमा रकम जम्मा गरेकाले १० प्रतिशत छुट दिएको पालिकाले जनाएको छ ।

यसैगरी, पर्यटकीय स्थल खोप्रामा सञ्चालित होटलहरुलाई वार्षिक रुपमा व्यवसाय करवापत ३० हजार रुपियाँ र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार रुपियाँ बहाल बटौली कर लिने निर्णय भएको पालिकाले जनाएको छ । पर्यटन र जलविद्युतमा प्रशस्त सम्भावना रहेको पालिकामा आन्तरिक आम्दानी बढाउँदै विकसित र समृद्ध पालिका बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *