वायु प्रदूषणको रेडजोनमा काठमाडौं

खबर खुराक
२९ चैत २०८० १३:३५

२९ चैत, काठमाडौं । दुई सातायता बढ्दै गएको वायु प्रदूषण काठमाडौंमा आज पनि उच्च छ । वातावरण विभागको प्रदूषण मापक सूचकांकले बुधबारभन्दा बिहीबार प्रदूषण बढेको देखाएको छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदूषणको मात्रा एयर क्वालिटी इन्डेक्स १५१ देखि १६६ सम्म थियो । बिहीबार बिहान यो इन्डेक्स १९० पुगेको छ । बिहीबार बिहान ११ बजे खुमलटारमा वायु प्रदूषणको स्तर एक्यूआई १९० पुगेको विभागले जनाएको छ । रत्नपार्कमा सो स्तर १७१ र कीर्तिपुरमा १६८ पुगेको छ ।

वायुको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको बिहीबार बिहान ११ः४५ बजेको रेकर्डअनुसार विश्वका १२२ मध्ये काठमाडौं दोस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ । पहिलो प्रदूषित सहरका रूपमा भारतको कोलकाता छ, त्यहाँ प्रदूषणको मात्रा २०३ यूएस एक्यूआई पुगेको आईक्यू एयरको रेकर्ड छ ।

एक्यूआई शून्यदेखि ५० सम्म रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्म भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्मको वायुले श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई पुगेमा सबैका निम्ति अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जाने विभागले जनाएको छ ।



प्रतिक्रिया