अर्थ मन्त्रालय बजेट लेखनमा व्यस्त, १५ जेठमा सार्वजनिक गर्ने

खबर खुराक
११ जेठ २०८०

११ जेठ, २०८० ।

पूर्वसचिव बास्कोटाका अनुसार १५ जेठका दिन सर्वप्रथम प्रधानमन्त्रीको अध्यक्षता हुने राष्ट्रिय योजना आयोगको बैठक बस्छ । सो बैठकले आगामी आर्थिक वर्षको आय/व्ययको विवरण ल्याउने निर्णय गर्छ । यो निर्णय अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै यो निर्णयलाई मन्त्रिपरिषद्मा पेश गरिन्छ । अर्थ मन्त्रालय यतिबेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयका ढोका बन्द गरिएका छन् भने बजेट लेखनमा खटिएका अधिकारीहरु सार्वजनिक सम्पर्कबाट अलग भएका छन् ।

गोप्यरुपमा लेखिने बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाका कारण कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्ने गरिएको छ । यस्तो परम्परा लामो समयदेखि नै चलिरहेको छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा बजेट सार्वजनिक गर्न ४ नै बजाउनु पर्ने बाध्यताका पछाडि सो दिन अर्थमन्त्रीको व्यस्ततासँग जोड दिन्छन् । बजेट अर्थ मन्त्रीले लेख्ने र सिधै सार्वजनिक गर्ने दस्तावेज होइन । यसका लागि प्रणालीगत रुपमा १५ जेठका दिन कम्तिमा चार वटा चरण पार गर्नुपर्छ । यी चरणका काम पुरा गर्दा पनि कम्तिमा ४ बजेसम्म समय लाग्ने उनले बताए ।