कविता
पर्खाईमा
तिमी सखारै मुग्लान पस्दा
भाले बासेकै थिएन रे ।
जूनकीरीको उजेलोमा हिड्यौ रे ।
म विदाई गर्न आउँदा
तिम्री आमा सुँकसुँकाइ रहेकी थिईन्
टोपीले आँसु पुछ्दै थिए बाबा ।
भाइबहिनीहरु
बासी ढिंडो निल्दै थिए
नूनखुर्सानीसँग ।
न्यास्रो मन
र
उजाड आँखा लिएर
छिनभर उभिएँ तिम्रै आँगनमा
थिएनौं तिमी भौतिकरुपमा
न सुनिए तिम्रा आवाज
ओरालिएँ आफ्नै गुँडतिर
दुखी र निरस मन लिएर ।
तिमी गएको पनि
ओैंला गनेर पुग्दैन हिसाव गर्दा ।
भनन
कहिले आउँछौ ?
डाँडाघरे ठूल्बा सोधिरहन्छन् तिम्लाई
पीपलबोटे माईज्यू मास छर्न गईन् ।
मास्टर कान्छा सहर पसे
गाउँ गाउँजस्तो छैन अचेल ।
आउ है छिटो
नियाल्न गाउँ
सम्झेर आफन्ती
अनि
नभूलेर मलाई ।
म तिम्रै बाटो हेरिरहन्छु
तिम्रै पर्खाईमा रहिरहने छु ।



प्रतिक्रिया दिनुहोस