बुटवलमा विशेष सांगीतिक कार्यक्रम हुने

खबर खुराक
१८ मंसिर २०८१

स्वरसम्राट नारायणगोपालको ३४ ओैं स्मृति दिवसका अवसरमा रागश्री संगीतालयले मंगलवार बुटवल, सुख्खानगरको एभरेष्ट ईन होटलमा ूनारायणगोपाल स्मृति विशेष सांगीतिक कार्यक्रमू गर्ने भएको छ ।
दिउँसो ३ वजेदेखि सञ्चालन हुने उक्त विशेष कार्यक्रममा रागश्री संगीतालयमा तालिम लिईरहेका र संगीतालयबाट तालिम सम्पन्न गरेका कलाकारहरुले आआफ्ना गायन प्रतिभा प्रस्तुत गर्ने संगीतालयका सञ्चालक संगीतकार सुरेश सेञ्चुरीले बताए । साथमा अतिथि कलाकारहरुले समेत नारायणगोपालका गीत गाउने उनले जानकारी दिए ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा ईच्छुक सबैलाई गीत श्रवणका लागि आमन्त्रण गरिएको सहआयोजक संस्था रोटरी ई(क्लव मेडिको फ्युजन हाईब्रिड,बुटवलले जानकारी गराएको छ ।
सम्वत् १९९६ असोज १८ गते काठमाडौंमा जन्मिएका नारायणगोपालको मृत्यु ५१ वर्षको उमेरमा २०४७ मंसिर १९ गते भएको थियो ।
कालजयी गीतका गायक एवम् संगीतकार नारायणगोपाललाई स्वरसम्राट भनिएपनि उनलाई उक्त मानपदवी मन परेको थिएन । सधैं लोप्रोफाईलमा बस्न रुचाउने नारायणगोपाललाई भने संगीतप्रेमीहरुले सधैंका लागि हाईप्रोफाइलमा राखिरहेका छन् । संगीतको ओैपचारिक शिक्षा हासिल गरेतापनि प्रमाणपत्र धारण नगरेका उनले कुनै कालखण्डमा राष्ट्रिय नाचघरमा महाप्रबन्धकको जिम्मेवारी समेत बहन गरेका थिए ।
दार्जिलिङकी पेमला लामासँग अन्तरजातीय विहे गरेका नारायणगोपाल गुरुवाचार्यले सोही कारण घरपरिवारबाट अनेक समस्या झेल्दै बहिस्कृत हुनुपरेको तीतो यथार्थ थोरैलाई थाहा भएको विषय हो ।
बुटवलमा हुने उक्त विशेष सांगीतिक कार्यक्रममा नारायणगोपालको जीवनी,उनको तीतामीठा भोगाई र आजसम्म उनको गीत,संगीतप्रतिको झुकावका बारेमा समेत प्रष्ट्याईने संगीतालयकी प्रशिक्षक सरिता पन्थी,सुनारले बताईन् ।