भोटेकोशी बाढीपीडितका लागि एमाले बगनासकाली गाउँ कमिटीद्वारा करिब एक लाख सहयोग

खबर खुराक
२४ भदौ २०८३

पाल्पा, २४ भदौ । नेकपा एमाले बगनासकाली गाउँ कमिटी पाल्पाले भोटेकोशी बाढीपीडितका लागि नगद राहत सहयोग गरेको छ ।


पार्टी कमिटीले चलाएको अभियानबाट संकलन भएको ९० हजार ९९० रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको एमाले गाउँ कमिटी अध्यक्ष डेन्जीङ रायमाझीले बताउनुभयो ।

सहयोग स्वरूप राहत कोषमा जम्मा गरेको रकमबारे बुधबार पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई  भौचर सहित पत्र बुझाएको उहाँले बताउनुभयो ।

एमाले बगनासकाली गाउँ कमिटी अध्यक्ष डेन्जीङ रायमाझीको नेतृत्वमा गएको टोलीमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, अर्का केन्द्रीय सदस्य सरस्वती चिदी, एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगर, प्रदेश कमिटी सदस्य टीकाबहादुर थापा, जिल्ला सचिव रामजी पोखरेल, जिल्ला कमिटी सदस्य हरि पाठक लगायतको उपस्थिति रहेको थियो ।

नगर कमिटीले जिल्ला प्रशासन कार्यालय पाल्पालाई पठाएको पत्रमा भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सक्दो सहयोग गरिएको उहाँले बताउनुभयो ।
पत्रमा बाढीबाट प्रभावित तथा बेपत्ता परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरिएको छ ।

गाउँ कमिटीले राहत तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै पीडित परिवारको दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले प्रदान गरेको सहयोगके रेकर्ड केन्द्र सरकारमा पठाउने बताउनुभयो ।


धेरै पढिएको