भैरवनाथ मन्दिरमा भजन तथा कृतन कार्यक्रम सम्पन्न

खबर खुराक
२१ असोज २०८३

मिलन विश्वकर्मा
पाल्पा, २१ असोज । भैरवनाथ मन्दिरमा दीप प्रज्वलन, भजन तथा कृतन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

मन्दिर व्यवस्थापन समिति रिब्दीकोट गाउँपालिका-४ भैरवस्थान पाल्पाको आयोजना र राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान भैरवस्थानको सह-आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रम रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका  र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न समूहको सहभागिता रहेको थियो ।

धार्मिक अनुष्ठा बढाउन र संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो । पछिल्लो समयमा मानिसमा धार्मिक आस्था हराउँदै गएको पाइन्छ । पुराना संस्कृति बोकेका खैँजडी, मादल, मजुरा, मुरली, लगायतका वाद्यवादनका सामाग्रीबारे पुस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने खनालले विश्वास गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले धर्मले समाजलाई अनुशासनमा राख्ने बताउनुभयो । गाउँपालिकालाई धार्मिक स्थलको रूपमा पहिचान गराउने र आध्यात्मिक पर्यटकलाई भित्र्याउने योजना बनाएर आफूले काम गरिरहेको उहाँले बताउनुभयो । यहाँको संस्कृति संरक्षणमा पालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

विशिष्ट अतिथि राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले भजन चुड्का हाम्रो समाजको पहिचान भएको बताउनुभयो । पछिल्लो समयमा पश्चिमा संस्कृति भित्रिएको छ । भजन चुड्का र धार्मिक कार्यक्रमलाई बचाइराख्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

प्रतिष्ठान रिब्दीकोटका अध्यक्ष लक्ष्मी खनालले आफूहरू संस्कृति संरक्षणमा जुटेको बताउनुभयो । यहाँ मठ मन्दिर, धार्मिक संस्कृतिको बचाउ गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा रिब्दीकोटमा रहेका हिमाल भजन चुड्का समूह कुसुमखोला, राधाकृष्ण भजन चुड्का समूह भैरवस्थान, लघुवा भजन चुड्का समूह देउराली, परमानन्द बाल वृद्ध कल्याण संघ कुसुमखोला, मैनादी कान्ता आश्रम योगिकुटी पालुङ, रैनादेवी छहरा गाउँपालिकाको भगवती  मालिका भजन समूह ताङ्सिल, राधाकृष्ण भजन समूह सोमादी, श्रीजनशील एकादशी भजन समूह तानसेन नगरपालिका-२ को सहभागिता रहेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सचिव शिव पोखरेलले बताउनुभयो । पन्चेबाजा समेत घन्काइएको थियो ।

कार्यक्रममा सहभागी समूहलाई सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।