भोटेकोशी बाढी : नवलपरासीमा भेटिएका ८ शवको पाल्पामा व्यवस्थापन गरिने
मिलन विश्वकर्मा
पाल्पा, १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीले बगाएका ८ वटा शवको पाल्पामा व्यवस्थापन गरिने भएको छ ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्लालगायत विभिन्न स्थानबाट बगाई ल्याइएका तथा नवलपरासी (पूर्व) मा फेला परेका थिए । पहिचान हुन नसकेका ८ वटा शव शवगृहमा राख्नका लागि तानसेनमा ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट प्राप्त विवरणअनुसार पहिचान हुन नसकेका ३ पुरुष, ३ महिला, एक बालक र एक बालिकाको शव पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको शवगृहमा राखिएका छन् ।
लामो समयसम्म पहिचान हुन नसकेपछि शव दुर्गन्धित हुन थालेका छन्। शवलाई उपयुक्त भौतिक पूर्वाधारको अभावमा शवगृहमा राखिरहँदा दुर्गन्धित हुने देखिएपछि व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा तानसेन नगरपालिका–१, श्रीनगरस्थित एकीकृत सामुदायिक वनको धन्यपोखरी क्षेत्रमा शव व्यवस्थापन गरिने भएको छ ।
प्रचलित कानुन तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिवराज सेढाईले बताउनुभयो ।
शव व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रहरी कार्यालय पाल्पाले लिनेछ। आवश्यक उपकरण तथा सामग्रीका लागि तानसेन नगरपालिकाले सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले शव व्यवस्थापनका लागि आवश्यक बडी ब्याग, तारपोलिङ/प्लास्टिक सिट, युनिक आइडेन्टिफिकेसन बडी ट्याग, पीपीईलगायत सामग्री उपलब्ध गराउनेछ ।
यस्तै, शव व्यवस्थापन गरिएको स्थानको सुरक्षाका लागि तारबार तथा आवश्यक तारजाली भू–तथा जलाधार व्यवस्थापन कार्यालयले उपलब्ध गराउने निर्णय गरिएको छ ।
पहिचान हुन नसकेका ती शवहरूको डीएनए लगायत परीक्षण गरिने छ। जिल्ला अस्पताल पाल्पासँगको समन्वयमा शवको डिएनए गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यक व्यवस्था मिलाइने विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको सेढाईले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस