पाल्पामा पहिरोले घर पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

खबर खुराक
११ असोज २०८३

पाल्पा , ११ असोज । पाल्पामा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका-२ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।


गएराति साढे २ बजे माथिबाट खसेको पहिरोले घर पुरिएको हो । गम्भीर घाइते उनलाई उपचारका लागि पाल्पा अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तीन जना बेपत्ता

पहिरोले घर पुरिएर पाल्पामा तीन जना बेपत्ता भएका छन् ।
माथागढी गाउँपालिका-३ भैसिकट्टामा घर पुरिएको हो । ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी नातिनी १७ वर्षीया दीना घर्तीमगर, छिमेकी १५ वर्षीया झरना घर्तीमगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ भट्टराईले बताउनुभयो ।

आज बिहान साढे ४ बजे एक्कासी पहिरोले घर पुरिएको हो । अहिले उद्वारकार्य भइरहेको छ ।

यसअघि शनिबार रिब्दीकोट गाउँपालिका-६ ठिमुरेमा पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको थियो ।