अब विशेषज्ञ स्वास्थ्य सेवा तानसेनको लाइफकेयर पोलिक्लिनिकमा उपलब्ध हुने
मिलन विश्वकर्मा
पाल्पा, २२ कात्तिक । विशेषज्ञ स्वास्थ्य सेवा लिन ठूला अस्पताल तथा बुटवललगायतका सहर धाउनुपर्ने बाध्यता अब कम हुने भएको छ ।
पाल्पाको तानसेन नगरपालिका–४ मा सञ्चालित लाइफकेयर पोलिक्लिनिकले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने भएको छ ।
पोलिक्लिनिकका प्रबन्धक डा. चुरामणि रेग्मीले चिकित्सकसँग प्रत्यक्ष भेटेर परामर्श तथा उपचार सेवा लिन सकिने व्यवस्था गरिएको बताउनुभयो । यहाँ दैनिक विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध हुनेछ ।
पोलिक्लिनिकले २४सै घण्टा चिकित्सकसहित आकस्मिक सेवा, ओपीडी, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, मुटुको ईसीजी (ECG), इको (ECHO), सामान्य शल्यक्रिया तथा इन्डोस्कोपी सेवा उपलब्ध रहेको उहाँले बताउनुभयो ।
अत्याधुनिक भिडियो मेसिनमार्फत परीक्षणको व्यवस्था पनि गरिएको छ । त्यसैगरी गर्भवती महिलाका लागि थ्रीडी एनमली स्क्यान (Anomaly Scan 3D), महिला तथा स्त्रीरोग, बालरोग, दाँतसम्बन्धी सेवा, हाडजोर्नी तथा नशारोग, मानसिक रोग, छाला तथा यौनरोग, नाक, कान, घाँटी तथा पेट र आन्द्रासम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने डाक्टर रेग्मीले बताउनुभयो ।
आकस्मिक उपचारदेखि विभिन्न रोगको परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श र औषधिसमेत एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले फार्मेसी सेवा पनि सञ्चालनमा रहेको छ । फार्मेसीमा विभिन्न रोगका औषधि सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको डाक्टर पूजन श्रेष्ठले बताउनुभयो ।
तानसेनमै विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष भेटेर सेवा लिन पाउने तथा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गर्न सकिने भएपछि पाल्पा र आसपासका क्षेत्रका नागरिकलाई सहज हुनेछ । यसले सामान्य उपचार तथा विशेषज्ञ परामर्शका लागि बुटवल पुग्नुपर्ने बाध्यता घटाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
गुणस्तरीय सेवा प्रवाह गर्न पाल्पा क्षेत्र नम्बर २ का सांसद माधव थापाले सुझाव दिनुभयो ।



प्रतिक्रिया दिनुहोस