रोटरी क्लब अफ पाल्पा लुम्बिनीद्वारा बाँसटारीमा मानसिक स्वास्थ्य सचेतना

खबर खुराक
२५ असोज २०८३

मन गहिरे
पाल्पा, २५ असोज । रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा चियासँगै मनका कुरा गर्दै विश्व मानसिक स्वास्थ्य दिवस शनिबार तानसेनको बाँसटारीमा सम्पन्न भएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ´आफ्ना तनावहरूलाई व्यवस्थापन गरौं, मानसिक स्वास्थ्य समस्या समाधान गरौं` भन्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम गरिएको क्लबकी अध्यक्ष शिखा पहारीले बताउनुभयो । वर्तमान समयमा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरू बढ्दै गएको र उनीहरूलाई उचित परामर्श, हेरचाह, माया र स्नेहको आवश्यकता पर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा मनोरोग विशेषज्ञ डा बिष्णु आचार्य, डा. समता नेपाल, चिकित्सक एवं प्राध्यापक आलोक आत्र ेय, डाक्टर हिमाल घिमिरे लगायतले सेवाग्राहीलाई प्रत्यक्ष भेटघाट तथा परामर्श दिएका थिए ।

रोट्र्याक क्लब अफ लुम्बिनी र लियो क्लब अफ लुम्बिनीको समेत सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा चियासँगै मनका कुरा साटासाट गर्ने अवसर प्रदान गरिएकोले आफ्नो मानसिक पीडा प्रत्यक्ष चिकित्सकलाई खुलेर सुनाउन पाएकोमा सेवाग्राहीले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा रोटरी क्लबका निवर्तमान अध्यक्ष लक्ष्मण कोइराला, क्लबका पूर्व अध्यक्षहरू रमेश न्यौपाने , प्रदिप खनाल , क्लबका कोषाध्यक्ष दीपक जिसी, जनस्वास्थ्य कार्यालय पाल्पाका शान्ति भण्डारी लगायतले शारीरिक स्वास्थ्यका साथसाथै मानसिक रुपमा स्वास्थ्य रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार, गायक कलाकार, चित्रकार र सर्वसाधारणको उपस्तिथि रहेको थियो ।

क्लबकी अध्यक्ष शिखा पहारीको अध्यक्षता भएको कार्यक्रममा क्लबको बोर्ड सदस्य गोविन्द गौतमले सहजीकरण र क्लबका सचिव हरि अर्यालले सञ्चालन गर्नुभएको थियो।