तानसेन नगरपालिका -१२ का दुइ सय घरमा खानेपानीको धारा पुर्याउन सफल भएँ : वडा अध्यक्ष केसी
मिलन विश्वकर्मा
पाल्पा, १८, भदौ । तानसेन नगरपालिका–१२ ले एक वर्षको अवधिमा भवन निर्माण, खानेपानी, सडक, कृषि तथा पशुपालन क्षेत्रका विभिन्न काम सम्पन्न गरेको छ ।
वडाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार करिब ५० लाख रुपैयाँको लागतमा वडा भवन निर्माण सम्पन्न भएको छ ।
वडाभित्रका २०० भन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ। खानेपानीको पहुँच विस्तारसँगै स्थानीयवासीलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले धारा जडानको काम गरिएको वडा अध्यक्ष मेजर सिंह केसीले बताउनुभयो ।
त्यसैगरी, तानसेन नगरपालिका–५ बतासे डाँडादेखि वडा नम्बर १२ को चण्डीभन्ज्याङसम्म करिब तीन किलोमिटर मोटरबाटो कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। सडक स्तरोन्नतिले स्थानीयवासीको आवतजावत तथा कृषि उपजको ढुवानीमा सहजता पुगको उहाँले बताउनुभयो ।
वडाले किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समेत सहयोग गरेको छ। चिनारी दुग्ध सहकारी र लुहुङ दुग्ध सहकारीमार्फत स्थानीय किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापन गर्न वडा कार्यालयले सहजीकरण गरेको केसीले बताउनुभयो ।
कृषि यान्त्रीकरण सहयोगअन्तर्गत किसानलाई २० वटा हाते ट्र्याक्टर, दुई वटा कम्बाइन मिल र एक वटा मिल्किङ मेसिन उपलब्ध गराइएको छ। यस्ता उपकरणले कृषि तथा पशुपालनको काममा सहजता ल्याउने र उत्पादन लागत घटाउन सहयोग पुग्ने वडा अध्यक्ष केसीको विश्वास छ।
वडाभित्रका करिब ३० जना किसानलाई दुई हजार कागतीका बिरुवा वितरण गरिएको छ। यसका साथै ५० प्रतिशत अनुदानमा गाई र बाख्रा उपहार कार्यक्रम अन्तर्गत बाख्रा वितरण र घाँसको बीउ वितरणसमेत गरिएको छ ।
स्थानीय सडक सञ्जाल विस्तारतर्फ तानसेन नगरपालिका–५ बतासे डाँडा–बौघापोखरा थोक–लुहुङ–जोर्ते मोटरबाटो सञ्चालनमा ल्याउन पनि वडा कार्यालयको पहलमा संचालनमा आएको छ ।
वडाले पूर्वाधार विकाससँगै कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै किसानको उत्पादन बढाउने, बजारीकरणमा सहजीकरण गर्ने र स्थानीयवासीको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाएको वडा अध्यक्ष केसीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस