तीन संस्करण, तीन फाइनल र अन्ततः पहिलो उपाधि
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।
लगातार तीन संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि यसअघि उपाधिबाट वञ्चित हुँदै आएको सुदूरपश्चिमले यसपटक भने शानदार प्रदर्शन गर्दै च्याम्पियन बन्ने सपना पूरा गरेको हो। यससँगै टोलीले अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। उनले ३१ बलमा उक्त रन बनाएका थिए। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले १७ बलमा २८ र अली शेखले १२ बलमा २४ रन बनाए।
लुम्बिनीलाई उक्त योगफलसम्म पुर्याउन सुदूरपश्चिमका बलरहरूले पनि प्रभावकारी प्रदर्शन गरे। स्कट कुगेलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै १५८ रन बनाउँदै जित सुनिश्चित गर्यो। टोलीका ओपनर जर्ज मुन्सीले विस्फोटक शतकीय पारी खेल्दै फाइनललाई एकपक्षीय बनाए। उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतले अविजित १२५ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रनको योगदान दिए।
मुन्सीले मात्र २८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४९ बलमा शतक प्रहार गरेका थिए। उनको आक्रामक ब्याटिङका कारण सुदूरपश्चिमले ३९ बल बाँकी छँदै लक्ष्य पूरा गर्न सफल भयो। फाइनलमा मुन्सीको शतक नै खेलको निर्णायक पक्ष बन्यो।
एनपीएलको इतिहासमा सुदूरपश्चिम रोयल्स लगातार तीनवटै संस्करणको फाइनलमा पुग्ने टोली बनेको छ। पहिलो संस्करण सन् २०२४ मा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो। तर, त्यतिबेला जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।
पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो। जवाफमा जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर १८५ रन बनाउँदै उपाधि जितेको थियो। जनकपुरका लाहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाउँदै फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
दोस्रो संस्करण सन् २०२५ मा पनि सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो। तर, यसपटक लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित हुन पुग्यो।
फाइनलमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो। जवाफमा लुम्बिनीले केवल ९ ओभरमा चार विकेट गुमाएर ८६ रन बनाउँदै पहिलोपटक उपाधि जितेको थियो। उक्त खेलमा रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा तीन रन मात्र खर्चेर तीन विकेट लिएका थिए। उनी फाइनलका उत्कृष्ट खेलाडी तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए।
यसरी पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।
एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स, दोस्रो संस्करणमा लुम्बिनी लायन्स र तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स च्याम्पियन बनेका छन्। लगातार तीन संस्करणमा तीन फरक टोलीले उपाधि जित्नुले प्रतियोगितामा प्रतिस्पर्धा थप रोचक बनेको देखाउँछ।
तेस्रो संस्करणको फाइनलसम्म पुग्ने क्रममा लुम्बिनीले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले पुनरागमन गरेको थियो।
यस संस्करणको लिग चरणमा लुम्बिनीले ११ अंकसहित शीर्ष स्थान र सुदूरपश्चिमले १० अंकसहित दोस्रो स्थान हासिल गरेका थिए।
लगातार दुई संस्करणको फाइनलमा पराजित भएर पनि हार नमानी तेस्रोपटक उपाधिका लागि मैदान उत्रिएको सुदूरपश्चिमले यसपटक भने आफ्नो क्षमता प्रमाणित गरेको छ। जर्ज मुन्सीको ऐतिहासिक शतक र विनोद भण्डारीको साथले टोलीलाई पहिलो एनपीएल उपाधि दिलाएको छ।
यससँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको छोटो इतिहासमा आफ्नो नाम पहिलोपटक च्याम्पियनको सूचीमा लेखाएको छ।



प्रतिक्रिया दिनुहोस