हिम्मत

खबर खुराक
५ पुष २०८१

देखाउन हुँदैन
कमजोरी
बिल्कुल, हिम्मतवाला
किन कि
कमजोर र निम्छारा
संसारका कलङ्क हुन्

रुनु हुँदैन
दुख्नु हुँदैन
अवरोधका पहाडहरु
सामना गर्नैपर्छ
जिन्दगी यहि हो !

आफ्ना कर्तव्य पूरा गर
अरु सो सरह काम गर
नत्र,
तिम्रो स्थान कतै हुने छैन !

श्वास फेर्न नसक्ने अवस्थासम्म
छाती फुलाएर
थुन, आफ्नै आवाज
रोक,
आफ्ना झर्नै लागेका आँसु
अनि
मुसुक्क मुस्कुराउ
यति गर्दागर्दै बानी लाग्नेछ
जिन्दगी मुस्कान हो
आँसु होइन !

भूमिका अनुसार
अभिनय गर
तर,
बिल्कुल दुःख नदेखाउ
हेपाइ खानुपर्छ !

कमजोर ठान्छन्
बिचरा ! सम्झन्छन्
तिरस्कार गर्छन्
हेप्छन्
बहिष्कार गर्छन्
त्यसैले मुस्कुराइ रहनु
यी सबैका ओखती
खुशी देखिनु हो !

वाह !
सबै डरहरु पालेर
कोही, कसरी
निडर हुन्छन् ?