पाल्पामा श्रीनगर सांस्कृतिक डबलीको शुभारम्भ

खबर खुराक
२२ फागुन २०८१

मिलन विश्वकर्मा
पाल्पा, २२ फागुन । तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासे डाँडामा बनेको श्रीनगर साँस्कृतिक डबलीको शुभारम्भ गरिएको छ ।

तानसेन नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको हो । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । साँस्कृतिक डबलीमा स्थानीय कला संस्कृति प्रस्तुत गरिने छ । उद्घाटन कार्यक्रममा स्थानीय कला संस्कृतिसमेत प्रस्तुत गरिएको थियो ।

तानसेन पर्यटकीय नगरी हो । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्ने खालका कार्यक्रम डबलीमा प्रस्तुत गरिने छ । स्थानीय भेषभुषा भल्किने कला संस्कृतिसँगै पर्यटक रमाउन पाउने छन्। एक दिनभर तानसेन बस्नेछन् ।

डबलीमा ठूला ठूला समारोह पनि सञ्चालन हुने छन् । खुला थिएटरको रुपमा डबली निर्माण गरिएको छ। तानसेनको व्यापारलाई चलायमान गराउन सहयोग पुग्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

विभिन्न समुदायको लोप हुन लागेका संस्कृतिको साँस्कृतिक डबलीले जगेर्ना गर्ने नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो । पर्यटकका लागि डबली एउटा गन्तब्य बन्नेछ । यहाँ विभिन्न समुदायका फरकफरक संस्कृति प्रदर्शन गरिने छ । तानसेनमा बसोबास गर्ने नेवार, मगर समुदायका संस्कृति विशेष प्रस्तुत गरिने उहाँले बताउनुभयो । शुभारम्भ कार्यक्रममा नेवार समुदायको धिमे नाच, मगर समुदायको जिवै मामा, सालैजो, झाम्रे, ठूलो नाच, सोरठी लगायतका नाच प्रस्तुत गरिएको थियो ।

डबली सञ्चालनका लागि निजी संस्थालाई जिम्मेवारी दिइने छ । टेण्डर प्रक्रियाबाट वार्षिक रुपमा सञ्चाल गर्न दिने तयारी भइरहेको उपप्रमुख सिंजालीले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो । ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा बराबरको लगानीमा डबली निर्माण भएको हो ।

गत वर्षको मंसिरमा प्रदेश सरकारले तानसेन नगरपालिकालाई डबलीको स्वामित्व हस्तान्तरण गरेको थियो ।