गर्व गर्ने खालको नगरपालिका बनाउने नीति तथा कार्यक्रम ल्याउन सिद्धार्थनगर नगरबासीकाे सुझाव

खबर खुराक
१० असार २०८०

१० , असार ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम एवम बजेट तर्जुमा सम्बन्धमा छलफल सहित राय सुझाव संकलन गरेको छ । नगरपालिकाको समग्र बिकासका लागी नगरसभाले निमार्ण गर्नुपर्ने योजना र प्राथमिकताका क्षेत्र निर्धारणका लागी नगरका राजनितिक दल तथा सरोकारवालाहरुसंग  गत बुधबार  ६ गते भैरहवामा सुझाव संकलन गरीएको छ । कार्यक्रममा सहभागी सरोकावालाहरुले नगरपालिकाको प्रमुख समस्या के हो, जनप्रतिनिधीले कस्तो नगरपालिकाको परिकल्पना गरेको हो त्यही अनुसार काम गर्न सुझाव दिएका छन । सहभागीहरुले स्थानिय सरकारको मुख्य स्रोत के हो त्यसको पहिचान गरी त्यस क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गरेका छन ।

जनताले चाहेको र परिकल्पना गरेको सिद्धार्थनगर र नागरीकले गर्व गर्ने खालको नगरपालिका बनाउने नीति तथा कार्यक्रम ल्याउन सहभागीहरुले माग गरेका छन । सरोकारवालाहरुले भैरहवाका बिद्यार्थीहरुलाई अन्य क्षेत्रमा अध्ययन गर्न जाननपर्ने गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको निति बनाइ शिक्षा क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन । सिद्धार्थनगर नगरपालिकामा प्रवेश गर्ने बित्तिकै भगवान गौतम बुद्धको जन्मस्थलमा प्रवेश गरेको अनुभुती दिलाउने गरी आन्तरिक र बाहय पर्यटकलाई सिद्धार्थनगरमा ब्यवस्थित रुपमा स्वागत गर्ने गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्न अनुरोध गरीएको छ भने शान्त सुन्दर सिद्धार्थनगरको परिकल्पना गर्दै हर्न निषेधित क्षेत्र घोषणा गर्न नीति तथा कार्यक्रममा राख्न सहभागीहरुले सुझाव दिएका छन ।