भोकोलाई भोजन (पौराणिक कथा)

खबर खुराक
१८ जेठ २०८० ११:००

१८ जेठ, काठमाडौं । कथा त्यति बेलाको हो, जति बेला भगवान् राम वनबासको क्रममा थिए । त्यति बेला उनी पत्नी सीता र भाइ लक्ष्मणका साथ चित्रकूट पर्वतमा बस्थे । उनी एक दिन घुुम्दै सपरिवार महर्षि अत्रिको आश्रममा पुगेका थिए । आश्रममा अनायासै रामको उपस्थिति देखेर महर्षि अत्रि आश्चर्यचकित भए । उनले रामको आश्रमोचित स्वागतसत्कार गर्दै अचानक आउनुका कारण सोधे । अत्रिको प्रश्नले रामलाई केही असहज त लागेको थियो तर त्यतातिर ध्यान दिने अवस्था थिएन । त्यसैले सहज भावमा प्रस्तुत हुँदै भने–

खासै केही होइन महर्षिजी ! समाजको पथप्रदर्शक हुनुहुन्छ, हामीहरूजस्ताको मार्गदर्शक हुनुहुन्छ । यहाँहरूका आश्रममा आउन के नै कारण चाहियो र । दर्शन गरौँ, आशीर्वाद मागौँ र केही कुरा सोधौँ कि भन्ने लागेर आएको हुँ । दर्शन पायौँ आभारी छौँ । तपाईंलाई थाहै छ पुज्य पिताजीले अकास मृत्यु भएको छ । यसको मुख्य कारण मै हुँ । मेरै अनुपस्थितिले उहाँ त्यस्तो अवस्थामा पुग्नु भएको हो । यस अर्थमा आफूलाई निकै अभागी मानेको छु । तथापि जे नहुनु थियो भयो, भइहाल्यो । त्यसलाई फर्काउन त सक्दैनौ तर उहाँको आत्मालाई मुक्ति दिलाउने कार्य कुनै भए त्यसलाई पूरा गर्न भने सक्छौँ । अहिले विशेष गरी यता आउनुका कारण यसैलाई मान्नुभए हुन्छ । धर्मशास्त्रमा उल्लेख भएको पितृृमुक्तिसम्बन्धी उपाय बताइदिनुभए आभारी हुने थिएँ ।’

रामको कुराले महर्षि अत्रिलाई निकै खुसी बनायो । उनले रामलाई सम्बोधन गर्दै भने–“वत्स राम ! मन सानो नबनाऊ । यसमा तिम्रो कुनै दोष छैन । जे भयो उहाँकै कारण भयो । जहाँसम्म मुक्तिको कुरा छ जसको तिमीजस्ता सन्तान भएका छन् त्यस्ता कुलका पहिले नै तरिसकेका  छन् । तथापि सन्तान भएका नाताले पूर्वजप्रतिको दायित्व पनि केही हुन्छन् । त्यसैले सम्भव हुन्छ भने पुष्कर तीर्थमा गएर नाममा स्नान, तर्पण तथा श्राद्ध  गरिदिन सक्छौ ।”

त्यसको केही समयपछि भगवान् रामले पुष्कर तीर्थमा गएर स्नान गरे, जहाँँ महर्षि मार्कण्डेय पहिलेदेखि नै बस्दै आएका थिए । रामले उनलाई नमस्कार गर्दै आफू यता आउनुका कारण पनि बताए र श्राद्ध भोजनको निमन्त्रणा पनि दिए । मार्कण्डेयले निमन्त्रणा स्वीकार गर्दै स्नान गरेर आउँछु भने ।

त्यति बेलासम्म लक्ष्मणले श्राद्धको सामग्री तयार पारिसकेका थिए । यथा समयमा श्राद्ध पनि सकियो र भोजनका लागि मार्कण्डेयको प्रतीक्षा गर्न लागे । त्यति बेलासम्म माता सीताले एकैछिनपछि केही शिष्यका साथ मार्कण्डेय आइपुगे । राम उनीहरूलाई भोजन गराउन लागे । सघाउने काम सीता र लक्ष्मणले गरेका थिए । जब राम ऋषिमण्डलीलाई भोजन गराउँदै थिए एउटा भिखारीले आएर भने–

‘महाराज ! तीन दिनदेखि भोको छु । केही खाने चिज पाए आभारी हुने थिएँ ।’

रामले उनलाई पनि श्रद्धापूर्वक भोजन गराए । त्यति नै बेला एउटा चमात्कार भयो । भयो के भने जति बेला राम भिखारीलाई भोजन गराउँदै थिए माता सीता पछि हटी एउटा वृक्षको छेल पारेर हेर्न लागिन् ।

रामले तत्कालै त केही भनेनन् । जब अतिथिहरू बिदा भएर गए त्यसपछि आफूलाई रोक्न सकेनन् र सोधे– “देवीजी ! मैले भिखारीलाई भोजन गराउन लाग्दा तिमी पछि हट्यो किन ? बिनाकारण त पक्कै त्यसो गरिनौ होला ।”

प्रतिउत्तरमा सीताले भनिन्– “किनकि हजुरले जुन भिखारीलाई भोजन गराउनुभएको थियो उनमा मैले साक्षात् महाराज दशरथको दर्शन पाएँ । कपडा पनि उहाँकै थियो, मुकुट पनि उहाँकै । बसाइ खुवाइ पनि उहाँकै । त्यसैले उहाँको अगाडि बस्न उपयुक्त नदेखेर पछि हटेको हुँ ।”

सीताको कुरा सुनेर राम निकै खुसी भए । अब उनलाई आफ्ना पिताजीले मुक्ति प्राप्त गरिसकेकामा कुनै सन्देह रहेन । त्यसपछि उनी कृतकृत्य हुँदै निवासतिर फर्के ।

पद्मपुराणमा आएको यस कथामा के कति सत्यता छ त्यो त महर्षि व्यासजी नै जानुन् तर भोको मानिसलाई भोजन गराएको पुण्य असीम हुन्छ भन्ने कुरा भने सत्य हो । भोजन त्यस्तै मानिसलाई गराउनुपर्छ, जो भोको छ । अघाएको मानिसलाई खीर खान दिनुभन्दा भोको मानिसलाई बासी मकै खान दिनुको पुण्य पक्कै बढी हुन्छ ।

गोरखापत्रअनलाइनबाट।।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *