शिवसतीको झगडा (पौराणिक कथा )

खबर खुराक
२२ जेठ २०८० १५:५२

‘महादेव ! बाआमाको घरमा ठूलो उत्सव छ रे । उहाँहरूले महायज्ञको आयोजना गर्नुभएको रहेछ । देवदेवीहरू गइरहेका छन् । हाम्रो त वास्तै भएन । बिर्सेका पो हुन् कि, नत्र यस्तो नहुनुपर्ने । त्यसैले बिन्ती छ हामी पनि जाउँ न है । होइन हजुरलाई जान मन छैन भने पनि केही छैन, कर गर्दिन । मलाई जान दिनुस् । के भएको रहेछ सम्झाएर आउँछु ।’ दक्ष प्रजापतिको घरमा महायज्ञ भइरहेको कुरा थाहा पाएर सतीदेवीले भनिन् ।

‘हुँदैन महादेवी ! नबोलाएको स्थानमा जाँदा अपमान हुन सक्छ । बोलाएनन् त बोलाएनन् । के फरक पर्छ र । यसै पनि संसारमा कतै जन्म भइरहेको हुन्छ कतै मृत्यु । दुनियाँको पछि लागेर कहाँ साध्य हुन्छ र । बरु आऊ ध्यान गरौँ । ध्यान मन नलागे भजन नै गरे पनि हुन्छ ।’ महादेवले सम्झाए ।

‘कहाँ त्यसो भनेर हुन्छ । बाबुको घरमा, गुरुको घरमा र पतिको घरमा नबोलाए पनि जान हुन्छ भन्ने तपाईं नै होइन । आफन्तमा दुःखसुख पर्दा पनि नगएर हुन्छ ? संसार पैँचो हो आफू गएपछि नै अरू पनि आउने हुन् । दुनियाँले कुरा काट्छन् ।’ पार्वतीले थप जिद्दी गरिन् ।

‘आ नआए नआउन्, कुरा काटे काटुन् । के फरक पर्छ । एक्लै बसेर भगवान्को ध्यान गरौँला । एक त तिम्रा बाबा मसँग रिसाएका छन् । त्यसमाथि बोलाएका छैनन् । यस्तो अवस्थामा कसरी जाने भन त ? तिमीलाई मात्र बोलाउँदा म पनि पछि लाग्छु भन्ने ठानेर तिमीलाई पनि नबोलाएका होलान् । अर्को कुरा तिमीले जुन पितृ, पति र गुरुको घरमा नबोलाए पनि जान हुन्छ भन्ने जुन कुरा ग¥यौ । हो, त्यो कुरा ठीकै हो, मैले नै भनेको हो तर दुर्जन छन् भने त त्यो पनि हुँदैन । अहिले हाम्रो ग्रह दशा ठीक छैन । श्राप बेहोर्नु परेको छ । त्यसैले देवी ! जिद्दी नगर ।’ महादेवले थप सम्झाए । ‘मेरा पिताजी रिसाउनु भएको छ रे किन नि ?’ ‘खोइ के भन्ने ? मैले नमस्कार गरिन रे । यस्तो पनि हुन्छ ?

नमस्कार गरेको भए के जान्थ्यो त ? यसै पनि उहाँ हामीभन्दा ठूला हुनुहुन्छ ।

‘मनमनै त गरेकै हुँ नि ? उहँले थाहा पाउनुभएन । ?’

‘ हातैले गरेको भए के जान्थ्यो ? मनको कुरा बुझ्ने सबै तपाईं जस्तै हुन्छन् ?’‘त्यो त हो तर त्यतिबेला यज्ञमा बसेको थिएँ । यज्ञमा बसेको बेला उठेर नमस्कार गर्नु हुँदैन भन्ने शास्त्र वचन छ । त्यसैले मनमनै नमस्कार गरेको हुँ ।’‘जे सुकै भन्नुस् ।  म त हिँडे माइत ।

यति भनेर सतीदेवी हिँडिन् । महादेवलाई उनी अब फर्किदिनन् भन्ने थाहा थियो । त्यसैले सम्झाउँदै भने,

‘ठीकै छ, तिमी जाने हो भने रोक्दिन तर आफ्ना लुगाफाटा र गहना सबै लिएर जाउँ । के पर्छ के पर्छ ।

सतीदेवीले यसतर्फ ध्यान दिइनन् । उनलाई त कहिले बाबाको घरमा गएर किन नबोलाएको भनेर गुनासो गर्नु थियो ।सतीदेवीले सरासर यज्ञकुण्डमा गएर हेरिन् । ईशानतर्फ महादेवको आसन खाली देखेर उनलाई साह्रै नरमाइलो लाग्यो । किन यस्तो भयो भन्दै महादेवलाई बोलाउन पठाउन आग्रह गरिन् तर दक्ष प्रजपतिले सुन्नै चाहेनन् । उल्टै नानाभाँतीका कुरा गरी शिव निन्दा गर्न लागे ।

सतीदेवीलाई आफ्ना पतिको निन्दा सुन्न गाह्रो भयो । उनलाई शिव निन्दा सुन्ने शरीर लिएर बाँच्नु धिक्कार लाग्यो र अभक्ष खाएपछि ओकल्नै पर्छ भन्ने ठानी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरिन् । यस्तो अद्भुत घटनापछि सर्वत्र हाहाकार भयो । नारदजीले तत्कालै कैलाश पर्वतमा गएर यसको खबर दिए ।

खबर सुन्नासाथ क्रुद्ध भएका महादेवले आफ्ना जटाबाट वीरभद्र र महाकाली सृष्टि गरी दक्ष यज्ञ ध्वस्त पार्ने आदेश दिए । आदेश पाउनु के थियो तत्कालै शिवगणले यज्ञशालामा पुगेर सबै ध्वस्त पारे । दक्ष प्रजापतिको त टाउको नै काटेर हवन गरिदिए । यसरी सर्वत्र हाहाकार मच्चिन थालेपछि देवताहरू डराएर महादेवको पुकारा गर्न लागे । उनीहरूको पुकारा सुनेर महादेव सन्तुष्ट हुनुभयो र आफैँ आएर यज्ञ पूर्ण गरिदिनुभयो । मरेका मरिहाले बाँचेकाको उपचार पनि आफैँले गराइदिनु भयो । दक्ष प्रजापतिले शिव निन्दा गरेकाले उनको टाउको स्थानमा बोकाको टाउको जोडेर जीवित गराउनुभयो । दक्ष प्रजापतिले पनि शिवको शरणमा परेर माफी मागे ।

यसरी दक्ष प्रजापतिले अहङ्कारका कारण टाउको गुमाई त्यस स्थानमा बोकाको टाउको लिएर हिँड्नुप¥यो । सतीदेवीले अनावश्यक जिद्दी गरी झगडा गरेर घर छाडेकीले शरीर नै गुमाउनुभयो ।

गोरखापत्रअनलाइनबाट ।।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *