सङ्गतको प्रभाव (पौराणिक कथा)

खबर खुराक
२२ साउन २०८० १०:३०

नीतिशास्त्र भन्छ ‘संसर्गजा दोष गुणा भवन्ति ।’ अर्थात् संसर्ग वा सङ्गतले असललाई खराब र खराबलाई असल बनाउन सक्छ वा बनाउने गर्छ । फूलको सङ्गतमा परे किरा कमिलाले पनि देवीदेवताको शिरमा बस्न पाउँछन् । मूर्खको सङ्गतमा परे हीरामा पनि किरा लाग्न सक्छ । सज्जनको सङ्गत पाए दुर्जन पनि सज्जन बन्न पुग्छन् । दुर्जनको सङ्गतमा पर्नु परे सज्जनले पनि दुर्जन बन्नुपर्ने हुन्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा अद्भुत कथा प्रस्तुत गरिएको छ ।

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा अजामिल नामका ब्राह्मण बस्थे । उनी जति ज्ञानी थिए त्यति नै गुणी र विवेकी थिए । वेद र वेदान्तका ज्ञाता मानिन्थे । शील थियो, सदाचार थियो, सद्गुण थियो । शान्तिप्रेमी थिए, सदाचारी थिए । देवभक्त थिए, पितृभक्त थिए । आमाबाबुलाई सम्मान गर्थे, अतिथिको सेवा गर्थे । प्रत्येक दिन पञ्च महायज्ञ अर्थात् देवयज्ञ, पितृयज्ञ, ऋषियज्ञ, मनुष्ययज्ञ र भूतयज्ञको कृत्य पूरा नगरी खानै खाँदैनथे । परहित र परोपकार उनको मूलभूत विशेषता नै मानिन्थ्यो ।

एक दिनको कुरा हो उनी हवन यज्ञका लागि जङ्गलबाट समिधा (दाउरा) लिएर आउँदै थिए । गाउँको छेउमा कुनै एक नगरवधुको त्यस्तै किसिमको चरित्रहीन पुरुषसित लसपस भइरहेको दृश्य देखे । त्यस्तो दृश्य देख्नु के थियो तत्कालै उनको मति भ्रष्ट भइहाल्यो र सबै किसिमको ज्ञान, गुण, बुद्धि र विवेक गुमाएर तिनै नगरवधुको पछि लाग्न थाले । विस्तारै उनी नगरवधुप्रति यति बढी आकर्षित भएकी आफ्ना सबै सम्पत्ति उसैलाई सुम्पिदिए । विवाहित पत्नी मात्र होइन तिनबाट जन्मेका सन्तानलाई समेत त्यागेर उसकै साथमा रहन लागे । जब सञ्चित सम्पत्ति सकियो तब चोरी, डकैती, हत्या, लुटपाट गरेर नगरवधुको आवश्यकता पूरा गर्न थाले ।

रहँदा बस्दा नगरवधुको तर्फबाट १० भाइ छोरा भए । उनले आफ्ना छोराहरूमध्ये कान्छाको नाम नारायण राखेका थिए, जसलाई उनी निकै माया गर्थे । खाँदा, बस्दा, सुत्दा, हिँड्दा हर बखत उनकै सम्झना गर्थे, नरायण ! नारायण भन्दै हिँड्थे । समय बित्दै गयो उनी पनि बूढो हुँदै गए । जब उनी ८८ वर्षको के भएका थिए उनलाई लिन निकै डर लाग्दा दुई यमदूत आइपुगे । यद्यपि उनको आयु १०० वर्षको थियो तर पाप धेरै गरेकाले १२ वर्ष अघि नै लिन भनेर यमदूत आएका थिए ।

अचानक यमदूतलाई देखेर उनी निकै डराए र नारायण ! नारायण ! भन्दै चिच्याउन लागे ।

नारायणको नाम सुन्ने बित्तिकै वैकुण्ठबाट विष्णुका दूतहरू पनि आइपुगे र यमदूतसित भन्न लागे–

“छाड्नुस् महासय ! यी भगवद् भक्तलाई । अब भगवान् विष्णुबाहेक यिनलाई छुने अधिकार कसैलाई छैन ।”

विष्णुदूतका कुरा सुनेर यमदूतले आश्चर्य मान्दै भने– ‘भगवद् भक्त रे ! के भन्दै हुनुहुन्छ तपार्र्ईंहरू ? यी पापी कहिलेदेखि भगवान्को भक्त हुन पुगे ? लाग्छ यिनको पापबारे तपाईंहरूलाई थाहै छैन ।’

“थाहा छ महासय ! थाहा छ ।” विष्णुदूतले सम्झाउँदै भने– “अघिपछि जति नै पाप गरेका भए पनि मर्ने बेलामा त भगवान्लाई बोलाए नि । जसले मर्ने बेलामा भगवान्को नाम लिन्छ ऊ भगवान्को भक्त हुन्छ र त्यस्ता भक्तमाथि भगवान्बाहेक कसैको हक लाग्दैन ।”

विष्णुदूतको कुरा सुनेर यमदूतले थप आश्चर्य मान्दै भने–

“होइन कस्तो कुुरा गर्दै हुनुहुन्छ ? कहाँ यिनले भगवान्लाई बोलाएको हुन् ? उनले नारायण भनेर बोलाएका त आफ्नै छोरालाई हो । यिनले हाम्रो डरले आफ्नै छोरासँग सहयोग मागेका हुन्, जसको नाम नारायण रहेको छ ।”

त्यसपछि विष्णुदूतले मुस्कुराउँदै भने–

“जुनसुकै उद्देश्यले बोलाएका भए पनि उनले मर्ने बेलामा भगवान्को नाम लिई सके । अब यसो त्यसो केही सुन्न चाहँदैनौँ ।”

त्यसपछि यमदूत निराश भएर फर्के । विष्णुका दूत पनि १२ वर्ष आयु बाँकी रहेकाले उनलाई त्यहीँ छाडेर हिँडे ।

यसरी यमदूत र विष्णुदूतबिच भएको संवाद अजामिलले एउटा कुनामा बसेर अर्धचेत अवस्थामा सुनिरहेका थिए । त्यसपछि उनलाई तत्कालै ब्रह्मज्ञान प्राप्त भयो र गल्ती बोध गरी बाँकी जीवन सत्कर्ममा लगाई प्रायश्चित गर्नतिर लागे । फलतः १०० वर्षपछि मुक्ति पाउन सफल भए । पहिले तिनै अजामिल ज्ञानी र गुणी थिए, जो एकै क्षणको कुसङ्गतले पाप कर्ममा लागेका थिए । पछि तिनै अजामिलले एकै क्षण सत्सङ्गत पाउँदा ब्रह्मज्ञान प्राप्त गरी भगवद्भक्तामतिर लागेका थिए ।

यस व्यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर सङ्गतले असललाई खराब र खराबलाई असल बनाउँछ भन्ने कुरा भने सत्य हो ।

गोखापत्रअनलाइनबाट ।।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *