ब्रोइलर कुखुराको मासुबाट मानिसमा एन्टिबायोटिक प्रवेश, कस्तो असर गर्दछ ?

खबर खुराक
२५ साउन २०८०

२५ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा ब्रोइलर कुखुराको मासु उत्पादन बढेसँगै यसले आहारमा पौष्टिक तत्त्वको पनि वृद्धि गराएको छ । तर कुखुराको मासुमार्फत भने उपभोक्ताको शरीरमा हानिकारक तत्त्व पनि सँगै प्रवेश भइरहेको छ ।

मासुमार्फत शरीरमा प्रवेश भइरहेको स्वास्थ्यका लागि एकदमै हानिकारक मानिएको तत्त्व हो, एन्टिबायोटिक औषधि । पोल्ट्री फार्ममा कुखुरालाई चाँडो हुर्काउन दिइने ग्रोथ हर्मोन (एन्टिबायोटिक) ती कुखुराको मासुबाट उपभोक्ताको शरीरमा प्रवेश भइरहेको हो ।

पोल्ट्री व्यवसायी बलराम थापाका अनुसार ब्रोइलर कुखुरामा रोग प्रतिरोधात्मक क्षमता निकै कम हुने भएकाले चिकित्सककै सल्लाहअनुसार पोल्ट्री व्यवसायीले नै कुखुराको चल्लालाई २८ दिन पुगेपछि एन्टिबायोटिक दिने गर्छन् । कुखुरामा एन्टिबायोटिक क्षमता बृद्धि गराउनुका साथै तौल बढाउने भन्दै पानीमा मिसाएर एन्टिबायोटिक औषधि खुवाउने गरिन्छ ।

कुखुरालाई यसरी जथाभावी खुवाइएको एन्टिबायोटिक औषधि मासुमार्फत उपभोक्ताको शरीरमा प्रवेश गर्ने फुड टेक्नोलोजिस्ट सुमन लामिछाने बताउँछन् । उनका अनुसार कुखुरालाई छिटो बढाउन औषधिका रूपमा दिइने यो ग्रोथ हार्मोन फुड चेनमार्फत उपभोक्ताको शरीरमा सञ्चित भएर बस्ने गर्छ । एन्टिबायोटिक प्रयोग भएको मासु खाएपछि उपभोक्ताको शरीरमा अस्वाभाविक खतरा देखिन सक्ने लामिछाने बताउँछन् ।

उनका अनुसार कुखुराको कलेजो र आन्द्राभुँडीमा अन्य मासुको तुलनामा सञ्चित एन्टिबायोटिकको मात्रा बढी पाइएको हुन्छ । यसरी गलत एन्टिबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जोखिम बढेको लामिछानेको भनाइ छ ।

यसरी जथाभाबी औषधि प्रयोग गर्दा त्यसले भविष्यमा बिरामीको ज्यान नै लिनसक्ने जोखिम पनि बढेको चिकित्सकहरू बताउँछन् । एकजना पशु चिकित्सकका अनुसार कुखुरालाई टेट्रासाइक्लिन, एमोक्सिलिन, डक्सिसाइक्लिन र पेनिसिलिन जस्ता एन्टिबायोटिकको प्रयोग गरिँदै आएको देखिन्छ । जसमध्ये केही प्रतिबन्धित पनि छन् ।

सरकारले दाना पदार्थ ऐन, २०३३ को दफा १० बमोजिम कुखुराको दानाको गुणस्तर तथा मात्रासम्बन्धी मापदण्ड निर्धारण गरी जेठ १५ गते नै राजपत्रमा प्रकाशन गरेको छ । उक्त मापदण्डअनुसार दाना पदार्थमा गुणस्तर वृद्धि गर्न वा गुणस्तर कायम राख्न आवश्यकताअनुसार पोषक तत्त्व मिश्रित आहारपूरक दाना पदार्थ (फिड सप्लीमेन्ट) तथा दानाको योगशील (फिड एडिटिभ्स) प्रयोग गर्न सकिने तर दानामा एन्टिबायोटिक्सको प्रयोग भने गर्न नपाइने उल्लेख गरेको छ ।

मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने यस्तो तत्त्वको प्रयोग नियन्त्रण गर्न सरकारले दानासम्बन्धी मापदण्ड बनाएको भए पनि फार्महरूमा भने कुखुराको तौल बढाउनका लागि एन्टिबायोटिकको प्रयोग हुँदै आएको छ । जसलाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।