अल्फा लिनोलेनिक एसिडले मुटुको धमनी बलियो बनाएर मुटुलाई सक्रिय रुपमा काम गराउन मद्दत गर्छ । यसले मुटुरोगबाट टाढा राख्न मद्दत गर्छ । त्यस्तै यसमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले खानामा पाइने न्युट्रेसनलाई खेर जान नदिई रोक्ने पोषणविद् कोइराला बताउँछिन् ।
‘तोरीको तेलले दैनिक छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थिमा सुधार ल्याउनुका साथै पाचन प्रणाली बलियो बनाउँछ,’ उनी भन्छिन्, ‘यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले बाथसम्बन्धी रोगलाई कम गर्ने र छालामा सनस्क्रिनको रुपमा समेत काम गर्छ ।’ तोरीको तेलले श्वासप्रश्वास र एलर्जीको समस्यामा पनि राहत दिने कोइराला बताउँछिन् ।
तोरीको तेललाई नतताई पनि उपभोग गर्न सकिन्छ । केराउ, चाउचाउ, अचार, छोयला बनाउँदा तेललाई नतताई पनि खान सकिन्छ । तर यसरी पकाउँदा बजारको तेलभन्दा अर्गानिक तेल मात्रै प्रयोग गर्नु उत्तम हुने कोइराला बताउँछिन् । किनकि बजारमा पाइने तेलमा मिसावट हुने जोखिम हुन्छ ।
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार तोरीको तेल मोनोस्याच्युरेट हुन्छ, जसले शरीरलाई आवश्यक चिल्लो पदार्थ उपलब्ध गराउँछ । ‘यसमा भएको चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । तोरीको तेलमा हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडीएल (असल) कोलस्टेरोल बढाएर यसबाट मुटु रोगको खतरा न्यून गर्छ,’ उनी भन्छन् ।
प्रतिक्रिया दिनुहोस