ढाडको बाँगोपन हुने समस्या के कारणले हुन्छ ?

खबर खुराक
१० भदौ २०८०

एउटा जन्मजात नै हुन्छ। जन्मिँदा नै ढाड बाँगो हुन्छ। अर्को किसिमको बाँगोपना कारण नै थाहा नहुने खालको हुन्छ। जसलाई इडियोप्याथी भन्छौं। त्यो धेरैजसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ। यो चाहिं छोराहरूभन्दा छोरीहरूलाई बढी देखिन्छ। सातजना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ। कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन। ढाड बाँगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसहरूलाई थाहा पनि छैन। ए ! ढाड बाँगो भएछ, कसैकसैले त भगवानको श्रापले गर्दा भएको हो भन्ने गरेको पनि सुनिन्छ। त्यसैले उनीहरू उपचार नै नगरिकन त्यसै बसिरहेका हुन्छन्। यसको उपचार सम्भव छ। र समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याहरूबाट बचाउन सकिन्छ। ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ। सानो उमेरमा नै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ? एकछिन हिँड्दा पनि स्वाँस्वाँ हुन्छ। यी कुराहरू हामीले समयमा नै पत्ता लगाएर समयमै उपचार गर्न सक्यौं भने उसको क्वालिटी अफ लाइफ नर्मल बनाउन सक्छौं।

ढाडको बाँगोपन भएको कसरी थाहा पाउन सकिन्छ?

सबैभन्दा सामान्य उपाय भनेको बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ। हातले भुइँ छुन कोसिस गरेजस्तै घुँडालाई सिधा राखेर।त्यसरी निहुरिँदा अगाडिबाट अथवा पछाडिबाट विद्यालयमा शिक्षकहरूले हेरे पनि हुन्छ, आमाबुबाले घरमा हेरे पनि हुन्छ। त्यसरी हेर्दाखेरि ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभर अलिकति तल भएको देखिन सक्छ। त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौं। त्यो करङ नै रोटेट भएर आएको देखिन्छ, एउटा तल एउटा माथि। त्यो चाहिं सबैभन्दा सरल उपाय हो। घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ। यदि बाँगोपना देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं। एक्सरेले क्लियर गर्छ।

उपचार कत्तिको खर्चिलो छ ?

हाम्रो एसाेसिएसनमा दर्तावाल चिकित्सकको संख्या झन्डै एक सय जना हुनुहुन्छ। त्योबाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ। उहाँहरू सबै विज्ञ नै हुनुहुन्छ। हामीले एक्सरे गरेर हेरिसकेपछि बाँगोपना कति डिग्री रहेछ भनेर नाप्छौं। यदि २५ डिग्रीभन्दा सानो छ भने केही पनि गर्नुपर्दैन। हामीले अब्जर्भ मात्रै गर्ने भनेर भन्छौं । प्रत्येक ६-६ महिना वा वर्ष दिनमा फलोअप गर्छौं। यदि बाँगोपना २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौं। त्यसलाई प्रेस भनेर भन्छौं। यदि बाँगोपना ४० डिग्रीभन्दा माथि छ भने अप्रेसन गर्नुपर्छ भनेर भन्छौं। जे उपचार गरे पनि मुख्यकुरा मेरुदण्ड सन्तुलित हुनुपर्‍यो। हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नुपर्‍यो। यदि बाँगोपन धेरै छ भने अप्रेसन गर्छौं। अप्रेसन गर्दा रडहरू लगाउनुपर्छ। रडहरू विदेशबाट मगाउनुपर्छ। यो अलिकति महँगो पर्छ। विदेशमा उपचार गर्ने खर्चभन्दा झन्डै झन्डै आधाभन्दा पनि कम खर्चमा उपचार हुन्छ।

कुन उमेर समूहमा बढी देखिन्छ?

यो धेरैजसो बच्चाहरूमा देखिन्छ। आमाबुबाले तेल लगाउन सुरु गरिसकेपछि ढाड बाँगो भएको देखिन्छ। यो चाहिं एक्सरे हेरेर हड्डी चार कुने बन्नुपर्ने नबनेर तीन कुने बनेको हुन्छ। इडियोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ। बच्चाहरू आफैंले नोटिस गरेका हुँदैनन्। आमाबुवाले नोटिस गर्नुपर्छ। कहिलेकाहीं लुगा लगाएको फिटिङ हुँदैन। त्यसपछि थाहा हुन्छ। कहिलेकाहीं शिक्षक, साथीहरूले थाहा पाउँछन्। फिटिङ नै भएन भन्छन्। चेक गरेर हेर्दा बाँगोपना रहेछ भन्ने थाहा हुन्छ। हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं। स्कुलमा बाँगोपना भएका बच्चाहरू छन् कि छैनन् भनेर पत्ता लगाउनका लागि स्कुल स्कुलमा गएर बच्चाहरूको इक्जामिनेसन गर्ने गर्थ्यौं।

ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ ?

ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ। आजभन्दा १४-१५ वर्ष अगाडि टेक्नोलोजीको पनि विकास भइसकेको थिएन। विषयविज्ञहरू पनि थिएनन्। विषयविज्ञहरू डेभलप हुँदै गए। आज आएर ढाडको कुनै पनि समस्या विशेष गरेर ढाडको बाँगोपना, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हात खुट्टा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ। प्रविधिमा युरोप अमेरिकामा जति धेरै अघि छन् त्यहाँ त पुग्न नसकौंला तर त्यो प्रविधिअनुसार उनीहरूको कस्ट पनि एकदमै धेरै नै छ। ‍विश्वको जुन राम्रो हस्पिटलमा रिजल्ट आइरहेको छ, त्यो रिजल्ट हामीले पनि दिनसक्छौं र रिजल्ट पनि दिइरहेका छौं।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले विभिन्न किसिमका स्वास्थ्य नीतिहरू त ल्याइरहेको छ। ढाडमा चोट लागेको, हेड इन्जुरीसम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ। स्पाइन भनेको शरीरको त पिलर हो नि। मेरुदण्ड बलियो भयो भने मात्रै कुनै पनि मान्छे आफ्नो काममा अगाडि बढ्न सफल हुन्छ। स्कोलिओसिस सर्जरीको लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन। तर ढाडमा चोट लागेकोलाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ। र, हातखुट्टा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँजति भत्ता पनि दिने गरेको छ।

प्रश्नः ढाडको बाँगोपन हुन नदिन के गर्नुपर्छ?

जन्मदेखि नै बाँगोपना हुनसक्छ। आमाको पेटमा हुँदाखेरि नै जुन हिसाबमा हड्डी बन्नुपर्ने हो, त्यो नबन्न पनि सक्छ। इडियोप्याथिक (कारण नै थाहा नभएर बाँगोपना हुने) ले पनि हुनसक्छ। चोटपटक लागेर पनि ढाड बाँगो हुनसक्छ। चोटपटक लाग्नबाट बच्ने उपायहरू अपनाउनु पर्छ। ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ। रुख चढ्दा ख्याल गर्नुपर्छ। ढाडमा केही समस्या भएको छ भने र बाँगोपना हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ।