राराको सौन्दर्यमा हराउँदै पर्यटक

खबर खुराक
११ भदौ २०८० १२:४४

११ भदौ, काठमाडौं । जेठको महिना वर्षा ऋतु नभए पनि विगत केही दिनदेखि दिनरात नभनी एकोहोरो आकाश रोइरहेछ । भित्ताको घडीले रातको १ बजाएको छ । रारासम्मको यात्रा अरुणोदय नहुँदै निस्कने तय भएकाले हुनु पर्छ, निद्रादेवी अलि टाढा नै भइन् । दूरभाष यन्त्रले बिहानको ४ बजेको जानकारी दियो । जुरुक्क उठेँ र नित्य कर्म सकेँ । नौ दशक काट्नुभएका बुवाले रारा जाने सबैलाई मङ्गलस्तोत्र उच्चारण गर्नुहुँदै टीका लगाई दिनुभयो । यसले थप ऊर्जा प्राप्त गरेको अनुभूति भयो ।

अब हाम्रो बाटो छोट्याउने क्रम सुरु भयो । समसामयिक गफ चुट्दै जाँदा नौबिसे कटिसके छ । नोबिसेबाट अगाडि बढ्दा बिस्तारै तापमानको पारो बढ्दै थियो । शरीरका हरेक प्रत्यङ्गबाट पसिनाको नदी बग्दै थियो । मुग्लिन–नारायणगढ खण्डमा पर्ने दासढुङ्गानेर खाना खाइयो र अगाडि बढियो ।

बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाम, शङ्करनगरको आनन्द विहार तथा बुद्धको मावली देवदह, मणिमुकुन्द सेनको दरबार, जितगढी किल्ला, सैनामैनाको बोलबम धाम जस्ता प्राचीन पुरातात्त्विक सम्पदा बोकेको नगरी हुँदै अगाडि बढियो । साँझको ८:३० बजेतिर तेल पेल्ने कोलबाट नामकरण गरिएको कोहलपुर नगरमा प्रवेश गरियो । त्यहाँको औसत तापमान चालिस÷एकचालिस डिग्री भए पनि रात परिसकेकाले त्यहीँ विश्राम गर्ने निर्णय गरियो ।

भोलिपल्ट सखारै कोहलपुरबाट बाह्र बण्डाल अठार खण्डालको नामले परिचित सुर्खेत जिल्ला पुगियो । यस जिल्लाको पूर्वीबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेका रहेछन् । यहाँको खेतमा पाइने सिरु झार र सुर नामका देवताले यस उपत्यकाको पानी बाहिर फाली बस्ती बसालेकाले यस जिल्लाको नाम सुर्खेत रहेको भन्ने भनाइ पनि रहेछ ।

कर्णाली प्रदेश साँच्चै नै अनौठो रहेछ । सुर्खेत उपत्यका छिचोल्दै जाँदा साथीहरू पहाड गन्न लाग्नु भयो । बाटो बिग्रेकाले गाडीमा धक्कामुक्का खाँदै करिब साँझको ४ बजेतिर कालीकोट पुगियो । यसपछि जुम्ला लागियो । मेरा लागि जुम्ला नौलो नभए पनि बाटो खुट्याउन हम्मेहम्मे प¥यो । जुम्ला पुगेपछि बास बस्ने व्यवस्था मिलाउन समस्या आइलाग्यो । जसोतसो सुत्ने ठाउँ त पाइयो ।

गाडीको लामो यात्राले होला, शरीर थकित थियो । त्यसमाथि काठले बनेको घरमा मानिसको ओहोरदोहोर भइरहँदा आउने आवाजले निद्रा त कहाँ हो कहाँ थकाइ मर्न नै दिँदैनथ्यो । यस्तैमा कतिखेर निदाइयो पत्तै भएन । रातको ३ बजे नै निद्रा खुलेछ । यति सखारै कता जानु ? ओछ्यानमै पल्टिरहेँ । बिहान ६ बजेतिर गन्तव्यमा पुग्न सबै जना तयार भयौँ । अनि डाँफे लेकको बाटो हुँदै अगाडि बढियो ।

गाउँबेँसी, उकालीओराली र स्थानीयसँग मिठो हाँसो हाँस्दै तथा छोटो भलाकुसारी गर्दै जाँदा डाँफे लेक पुगेको पत्तै भएन छ । करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको डाँफे लेकले हामी कसैलाई पनि नरमाई उम्कन दिएन । घामको झुल्को देखिएको स्थान पुग्दा नपुग्दै सेतो घुम्टोले छोपिहाल्यो । कुहिरो लागेको चिसो–चिसो बिहानी जो थियो ।

एक/एक कप चियाका साथ आफूले बोकेको खुराक पेटमा हाल्दै गन्तव्य मार्ग समातियो । निर्माणाधीन मार्ग भएकाले माटो परीक्षणका लागि बिच बाटोमा राखिएको मेसिनका कारण केही समय आवातजावतमा अवरुद्ध भयो । सबै जना मिलेर सकी नसकी मेसिन पन्छाइयो र गाडी पास गराइयो । केही समय ठाडो उकालो लागेपछि गाडीको चक्काले काम गर्न छोड्यो ।

गुरुजीले करिब १ घण्टा लगाएर चक्का फेर्नु भयो । यो समय सबैभन्दा कठिन क्षणका रूपमा रह्यो । बाटो काट्ने दौरानमा कति अप्ठ्यारा खहरे, जँघार र भेल उर्लेर आए, कति दोभान, त्रिवेणी मिसिएर हराए । दिनको करिब १ बजे ताल्चा (रारा) विमानस्थल पुगियो । ताल्चा विमानस्थलमा एक जना मित्रले जसोतसो खाना खाने व्यवस्था गरेका रहेछन् । खाने ठाउँमा झिँगाले छोपे पनि थाकेको र आधा दिनसमेत भइसकेकाले आनन्द मानेर पेटमा केही हालियो ।

निकै अबेर भइसकेको भए पनि त्यसै दिन रारा जाने तय भयो । दिनको ३ बजे रारातर्फ लागियो । समुद्री सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको रारा ताल पुग्दा यात्राले थकित भए पनि अपार आनन्दको अनुभूति सँगाल्दै जीवनको उत्सव मनाउन तल्लीन भयौँ । नाङ्गा आँखाले नियालेर नपुगेर कालो चस्मा लगाएर रारा पढ्न तल्लीन भएँ । प्रकृतिलाई कसैले सिँगार्नु पर्दैन, आफैँमा सुन्दर छ । केही बेर ताल अनि वरिपरि रमाउन थाल्यौँ ।

प्रकृतिमा आश्रित कैयौँ जीवको बेग्लै संसार छ । प्रकृतिबाट हामीले सकारात्मक सन्देश लिन सक्छौँ । अनि मित्रवत् सौन्दर्यमा कुनै जातीय विभेद, राजनीतिको रङ अनि सामाजिक असन्तुलन पाउँदैनौँ । राराछेउ बसेर कल्पनामा डुबुल्की मार्दामार्दै समय गएको पत्तै भएन । रातभर रमायौँ । बिहानीपख तल झर्ने सम्भावना एकदमै न्यून रहेकाले विमानस्थलकै असपास बस्ने निधो भयो । सांस्कृतिक कार्यक्रममा समेत सहभागी हुन पाएको त्यस रात अविस्मरणीय रहन गयो ।  हिमाल पग्लिँदैमा हिउँ सकिँदैन अनि प्रकृति रुझ्दैमा सौन्दर्य पखालिँदैन । प्रकृतिको विराट् शृङ्खला जिन्दगीको एक अनुपम अनुभूति हुने रहेछ । हेरिरहन पनि मन लाग्ने रहेछ । यस्तै दृश्य आँखारूपी क्यामेराले कैद गरेर मनभित्र सजाउँदै हामी राराबाट काठमाडौँ फर्कियौँ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *