भदौ २६ मा आईफोन १५ सार्वजनिक हुने

खबर खुराक
१३ भदौ २०८० १६:५३

१३ भदौ, काठमाडौं । एप्पलले आईफोन १५ लाइनअप सार्वजनिक हुने मिति घोषणा गरेको छ । मंगलबार आधिकारिक वेबसाइट मार्फत कम्पनीले १२ सेप्टेम्बर (भदाै १२) मा एप्पल इभेन्ट हुने घोषणा गरेको हो ।

नेपाली समय अनुसार मंगलबार राति १०ः४५ देखि कार्यक्रम प्रसारण हुनेछ । याे इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टकाे मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लाे वर्ष सार्वजनिक भएकाे आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का माेडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।

कम्पनीले आईफोन १५ सिरिजसँगै नयाँ संस्करणका आईप्याड, म्याक, वेयरेबल र विभिन्न सर्भिस सार्वजनिक गर्ने बताइएको छ । आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स (सम्भवतः यो डिभाइसको नाम आईफोन १५ अल्ट्रा हुनसक्छ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आईफोन १५ को बेस भेरियन्टमा ए१६ बायोनिक चिप हुनेछ भने प्रो मोडेलमा ए१७ बायोनिक चिप हुने जानकारी बाहिरिएको छ । आईफोन १५ मा हुने यूएसबी टाइप-सी पोर्टलाई सबैभन्दा आकर्षक र बढी खोजिएको फिचरका रूपमा हेरिएको छ । विभिन्न लिकरका अनुसार आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट समावेश हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *